प्रतिनिधिसभा सदस्य निर्वाचन लड्न लुम्बिनीका तीन सांसदले दिए राजीनामा

हिमाल प्रेस ५ माघ २०८२ १७:०२
16
SHARES
प्रतिनिधिसभा सदस्य निर्वाचन लड्न लुम्बिनीका तीन सांसदले दिए राजीनामा धर्मबहादुर चाैधरी, धनबहादुर मास्के र कन्हैया बनिया।

बुटवल- आसन्न फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचन लड्नका लागि लुम्बिनी प्रदेशका तीन जना सांसदले राजीनामा दिएका छन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का धनबहादुर मास्की र नेकपामा समाहित भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसद धर्मबहादुर चौधरीले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका हुन्।

यस्तै अर्का लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनियाले रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचन लड्ने गरी राजीनामा दिएका छन्। लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले दुई जना प्रदेश सभा सदस्यले आइतबारनै पदबाट राजीनामा दिएको पत्र सचिवालयमा प्राप्त भएको तर बानियाँकाे भने आइनसकेकाे बताए।

मनोनयन दर्ताको समयभन्दा अगाडिनै सूचना टाँस गरेर जानकारी दिने तयारी प्रदेश सभा सचिवालयले गरेको जनाइएको छ।

चौधरी यसअघि नाउपाबाट बर्दिया २ (२)बाट निर्वाचित भएका थिए। तर नाउपा प्रचण्ड नेतृत्वको नेकपामा समाहित भएपछि उनी भने कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा लागेका थिए। उनी उज्यालो नेपाल पार्टीका महासचिवसमेत हुन्।

मास्की दाङ निर्वाचन क्षेत्र नं. ३ बाट र चौधरी बर्दिया–२ बाट उम्मेदवार बन्न लागेका छन्। प्रदेशसभाको जनमतलाई अवमूल्यन गर्दै दुवै जना सघीय सांसद बन्ने मोहमा लागेका छन्।

मास्की यसअघि तत्कालीन नेकपा माओवादी, एकीकृत समाजवादी र कांग्रेससहितको गठबन्धनबाट २०७९ को निर्वाचनमा दाङ ३ (२) बाट एमालेका हुकुमबहादुर बस्नेतलाई पराजित गरेका थिए। उनी लुम्बिनी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए।

चौधरीले यसअघि माओवादी-कांग्रेस गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका मानबहादुर थारुलाई हराउँदै विजयी भएका थिए। उनी प्रदेश सभामा नाउपाबाट भौतिक पूर्वाधार मन्त्रीसमेत बनेका थिए। २०७९ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ (१) मा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालबाट प्रदेश सभा सदस्यमा निर्वाचित बनियाले साेमबार दिउँसाे राजीनामा दिएका हुन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही-४ मा उम्मेदवारी दिने बनियाले जानकारी दिए।

प्रकाशित: ५ माघ २०८२ १७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast