काठमाडौँ- पुरानो शिक्षण पद्धतिले नयाँ पुस्ताका विद्यार्थीलाई टिकाइराख्न नसक्ने उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का अध्यक्ष युवराज शर्माले बताएका छन्।
११ र १२ कक्षापछि ठूलो संख्यामा विद्यार्थीले अध्ययन छाड्ने वा विदेश जाने प्रवृत्ति बढ्नुको मुख्य कारण शिक्षण शैली र पाठ्यक्रम समयानुकूल नहुनु रहेको उनले बताए।
अध्यक्ष शर्माले हिमालप्रेससँगको कुराकानीमा भने, ‘१२ कक्षासम्म विद्यार्थीलाई जबर्जस्ती राख्न सकिन्छ तर त्यसपछि उनीहरू भाग्छन्। शिक्षक र विद्यार्थीबीचको दूरी बढ्दै जाँदा सिकाइ प्रभावकारी हुँदैन।’
शर्माका अनुसार अहिलेको जेनजी पुस्ताले प्रयोगात्मक र प्रविधिमैत्री शिक्षा खोजिरहेको छ। तर अधिकांश विद्यालय र कलेजमा अझै पनि पुरानै ढाँचामा पढाइ भइरहेको छ जसले विद्यार्थीलाई आकर्षित गर्न नसकेको उनले बताए। शर्माले विशेषगरी कक्षा ११-१२ का शिक्षकलाई नियमित र व्यावहारिक तालिम आवश्यक रहेको बताए। उनका अनुसार आधा शिक्षण कक्षाकोठामा र आधा प्रयोगात्मक तथा फिल्ड आधारित हुनुपर्ने अवस्था आएको छ।
‘पाठ्यक्रम पाँच वर्षमै अप्रासंगिक भइसक्ने अवस्था छ। विद्यार्थी डिग्री लिएर निस्कँदा बजारले खोज्ने सीप उनीहरूसँग हुँदैन,’ उनले भने। पाठ्यक्रम समयानुकूल बनाउन कलेजलाई स्वायत्तता दिनुपर्नेमा पनि उनले बताए।
हिजो निजी शिक्षाले सरकारी कलेजका विद्यार्थी खोसेको आरोप लाग्ने गरे पनि अहिले निजी र सामुदायिक दुवै क्षेत्रमा विद्यार्थी संख्या घट्दै गएको शर्माले बताए। विद्यार्थी विदेश जाने क्रम बढ्दा दुवै क्षेत्र प्रभावित भएको उनको भनाइ छ।
नेपालमा हाल १८ वटा विश्वविद्यालय र करिब साढे चार सयभन्दा बढी कलेज सञ्चालनमा छन्। तर १०० भन्दा कम विद्यार्थी भएका कलेजको संख्या ५०० भन्दा बढी पुगेको शर्माले जानकारी दिए। विश्वविद्यालय थपिँदै जाने तर विद्यार्थी घट्दै जाने अवस्था चिन्ताजनक रहेको उनले बताए।
उच्च शिक्षाको गुणस्तर सुधारका लागि डिग्री अवार्डिङ कलेजलाई अटोनोमी दिनु आवश्यक रहेको शर्माले बताए। विश्वविद्यालय अनुदान आयोगले अघि सारेको क्वालिटी एस्योरेन्स एन्ड एक्रेडिटेसन प्रणालीलाई उनले सकारात्मक पहलको रूपमा उल्लेख गरे।
उनका अनुसार पुल्चोक इन्जिनियरिङ कलेज र महाराजगञ्ज मेडिकल कलेजजस्ता अटोनोमस क्याम्पस त्रिभुवन विश्वविद्यालयभित्रै सञ्चालनमा छन्। निजी कलेजलाई पनि निश्चित मापदण्ड पूरा गरेपछि त्यस्तै अधिकार दिन सकिने उनको भनाइ छ।
बजारमुखी विषयमा मात्र केन्द्रित हुँदा सामाजिक विज्ञान, इतिहास, राजनीति शास्त्र, दर्शन र भाषा विषय ओझेलमा परेको शर्माले बताए। ‘इतिहास र राजनीतिक शास्त्रजस्ता विषयमा विद्यार्थी न्यून छन्,’ उनले भने।
यसको विकल्पका रूपमा मल्टिडिसिप्लिनरी कोर्स विकास गर्न सकिने उनले बताए। व्यवस्थापन र कानुन, आर्ट्स पृष्ठभूमिका विद्यार्थीलाई लक्षित सूचना प्रविधिसँग जोडिएका कार्यक्रमहरू केही हदसम्म प्रभावकारी देखिएको उनको भनाइ छ।
नेपालमा क्लिनिकल साइकोलोजिस्ट, थेरापिस्ट, स्पिच तथा अकुपेसनल थेरापिस्टको गम्भीर अभाव रहेको शर्माले बताए। अटिजम र विशेष शिक्षाको माग बढ्दै गए पनि पाठ्यक्रम र सिट संख्या सीमित रहेको उनले उल्लेख गरे।
‘एक घण्टाको चार हजार रुपैयाँ तिर्न तयार हुँदा पनि थेरापिस्ट पाइँदैन,’ उनले भने। महाराजगञ्ज मेडिकल क्याम्पसमा क्लिनिकल साइकोलोजीमा सीमित सिट हुनु पनि समस्या भएको उनले बताए।
निजी विद्यालयका शिक्षकको तलब र सामाजिक सुरक्षाको विषय पनि चुनौतीपूर्ण रहेको शर्माले बताए। सबै विद्यालय सामाजिक सुरक्षा कोषमा जान सक्ने अवस्थामा नरहेको उल्लेख गर्दै उनले न्यूनतम तलब र तालिमलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
शिक्षामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रभाव बढ्दै गएको उल्लेख गर्दै शर्माले एआई नजाने शिक्षक विस्थापित हुन सक्ने खतरा औँल्याए। हिसानले आगामी तीन वर्षमा ५० हजार शिक्षकलाई डिजिटल र एआई सम्बन्धी तालिम दिने तयारी गरेको उनले जानकारी दिए।
अध्यक्ष शर्माका अनुसार शिक्षामा अभिभावकको भूमिकासमेत परिवर्तन हुनुपर्ने अवस्था आएको छ। विद्यार्थी र अभिभावक दुवैलाई करियर काउन्सेलिङ आवश्यक रहेको उल्लेख गर्दै उनले हिसानले यससम्बन्धी कार्यक्रम अघि बढाउने तयारी गरिरहेको बताए।
हेर्नुस् भिडियो



