प्रधानमन्त्री र इजरायली राजदूत भेट : कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा लैजाने प्रतिबद्धता

हिमाल प्रेस २८ पुष २०८२ १७:३७
12
SHARES
प्रधानमन्त्री र इजरायली राजदूत भेट : कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा लैजाने प्रतिबद्धता

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले शिष्टाचार भेट गरेका छन्।

साेमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा बासले नेपालको प्रथम महिला प्रधानन्यायाधीश र प्रथम महिला प्रधानमन्त्रीको रूपमा इतिहास बनाएकोमा बधाइ ज्ञापन गर्दै सफलताको शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्दै नेपाल-इजरायल बीचको मित्रवत् सम्बन्ध ६५ वर्ष पूरा भएकामा खुसी व्यक्त गरिन्। त्यसैगरी दुई मुलुकबीचको मित्रवत् सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन दुवै तर्फबाट प्रयास जारी राख्नुपर्ने धारणा व्यक्त गरिन्।

राजदूत बासले नेपाल र इजरायलको सम्बन्ध सुमधुर रहेको जनाउँदै यसलाई थप प्रगाढ बनाउन प्रतिबद्ध रहेको जानकारी गराए। साथै, हालै मात्र दुई मुलुकबीचको श्रम आप्रवासनसम्बन्धी सम्झौता तथा सोको कार्यान्वयनसम्बन्धी ‘प्रोटोकल’हरूपारित भएकामा नेपाल सरकारप्रति धन्यवाद व्यक्त गर्दै यसले नेपाली कामदारको इजरायलमा रोजगारीको अवसरलाई कानुनी आधार उपलब्ध हुने जानकारी गराए।

प्रधानमन्त्रीले नेपाली नागरिकलाई रोजगारीको अवसर उपलब्ध गराएकामा इजरायल सरकारलाई धन्यवाद दिँदै वर्तमान सरकारको प्रमुख प्राथमिकता प्रतिनिधिसभाको निर्वाचन रहेको जानकारी गराइन्। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताइन्।

भेटका अवसरमा दुवै पक्षबाट नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५औँ वर्षगाँठका अवसरमा केही थप महत्त्वपूर्ण कार्यको थालनी गर्ने कुरामा जोड दिइएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast