इटहरी- सप्तकोसी नदी किनारमा घाम ताप्दै विचरण गरिरहेको गोहीको दृश्यले पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको ध्यान तानेको छ। विशाल नदी, कतै हरियाली किनार, कतै बालुवाका अग्ला–अग्ला टप्पु र दलदले भू–भागबीच देखा पर्ने मगर गोहीले सप्तकोसी क्षेत्रको जैविक विविधतालाई अझ जीवन्त बनाएको छ। नदी किनारमा देखिने गोहीले पर्यटकहरूलाई रोमाञ्चित बनाइरहेको छ।
सप्तकोसी नदी आसपास रहेका तलाउ, दलदल र पानी जम्ने क्षेत्र मगर गोहीका लागि अनुकूल वासस्थान मानिन्छन्। यद्यपि यस क्षेत्रमा गोहीको यकिन तथ्यांक भने उपलब्ध छैन। स्थानीय बासिन्दा र संरक्षणकर्मीहरूका अनुसार गोही देखिने क्रम बढ्दो छ। विशेष गरी पानीको बहाव कम हुने मौसममा नदी किनार र बालुवामा गोही घाम ताप्दै बसेको दृश्य सामान्यजस्तै बन्दै गएको छ।
नेपालमा दुई प्रजातिका मगर र घडियाल गोही पाइन्छन्। जसमध्ये कोशीटप्पु वन्यजन्तु आरक्ष र आसपासका क्षेत्रमा भने मगर गोही मात्रै पाइन्छ। ताजा पानीमा बसोबास गर्ने मगर गोही मध्यम आकारको भए पनि स्वभावत: आक्रामक मानिन्छ। अवसर पाउँदा यसले मानिसमाथि समेत आक्रमण गर्ने गरेको उदाहरणहरू कोशी क्षेत्रमै रहेका छन्।

मगर गोही सामान्यतया नदी, ताल, पोखरी र दलदली क्षेत्रमा बसोबास गर्छ। माछा, साना जनावर र कहिलेकाहीँ घरेलु पशु समेत यसको आहारा बन्ने गर्छन्। चितवन राष्ट्रिय निकुञ्ज, राप्ती नदी, नारायणी नदी आसपास मगर गोहीको संख्या तुलनात्मक रूपमा धेरै रहेको छ। तर पछिल्ला वर्षहरूमा सप्तकोसी क्षेत्रमा पनि यसको विचरण बाक्लिँदै जानुले यहाँको प्राकृतिक वातावरण अझै गोहीका लागि अनुकूल रहेको संकेत गर्ने संरक्षणकर्मी अनिष तिम्सिना बताउँछन्।
‘पर्यटकहरूका लागि सप्तकोसी नदी र कोशी टप्पु क्षेत्र चराचुरुंगी अवलोकनका लागि रुचाइएको ठाउँ हो,’ उनले भने, ‘चरा अवलोकन गर्ने क्रममा जलमा आश्रित गोही, डल्फिन र कछुवाजस्ता प्राणीका कारण जो कोही लोभिन्छन्।’
सप्तकोसी नदीमा देखिने डल्फिनका कारण अझ पर्यटक थपिने र आकर्षित हुने गरेको बताउँदै उनले गोहीको सहज उपस्थितिले पर्यटनको नयाँ आकर्षण थपिएको बताए। नदी किनारमा गोही देख्दा पर्यटकहरू उत्साहित भए पनि स्थानीय बासिन्दाहरूले भने सतर्कता अपनाउनुपर्ने तिम्सिनाले बताए। माछा मार्न जाने, गाईवस्तु चराउन जाने वा नदीमा नुहाउने क्रममा गोहीसँग मुठभेड हुने जोखिम कायमै रहेको उनको भनाइ छ।
गोहीजस्ता जनावर नदीको पारिस्थितिक सन्तुलन कायम राख्न महत्त्वपूर्ण मानिन्छन्। तर त्यसका लागि नदी किनारमा चेतनामूलक सूचना, जोखिम क्षेत्रको पहिचान र स्थानीय बासिन्दालाई सतर्क बनाउने कार्यक्रम अपरिहार्य देखिएको जानकारहरू बताउँछन्।

विशेष गरी यस क्षेत्रमा माछा मार्नेको संख्या धेरै रहेको र त्यस अवस्थामा गोहीसँग मुठभेड हुन सक्ने जोखिम रहेको बताइन्छ। सप्तकोसी नदी किनारमा देखिएको शान्त दृश्यभित्र लुकेको जोखिमलाई समयमै बुझेर संरक्षण र सुरक्षाबीच सन्तुलन कायम गर्न सके मात्र मानव र वन्यजन्तुबीचको सहअस्तित्व दिगो बन्ने संरक्षणकर्मीहरू बताउँछन्।
मगर गोहीले वर्षमा २० देखि २५ वटा अण्डा पार्छ। खुट्टाका औंलाबीच जोडिएको छालाले यसलाई कुशल पौडीबाज बनाउँछ। जैतुन रङको माथिल्लो भागले नदीको सतहसँग घुलमिल गराउँछ भने मुन्तिरको सेतो–पहेँलो भागले पानीमुनि छलावरण दिन्छ। तर मानव निर्मित जाली र अव्यवस्थित माछा मार्नाले गोही संरक्षणमा चुनौतीसमेत थपिएको छ।
नेपालामा सप्तकोसीसहित महाकाली, कर्णाली, बबई, राप्ती, नारायणी र शुक्लाफाँटा, चितवन र बर्दिया राष्ट्रिय निकुञ्जभित्रका पानी जम्ने क्षेत्रहरूमासमेत यो गोही पाइन्छ।
निकुञ्ज आसपास बसोबास गर्ने सीमान्तीकृत समुदायको जीविकोपार्जन माछापालनमा निर्भर छ। जथाभावी माछा मार्ने अभ्यास, ठूला र घना जालको प्रयोग, राति माछा मार्ने प्रवृत्तिजस्ता कारणले गोही संरक्षण चुनौती मानिन्छ। नियमअनुसार माछा मार्न अनुमति दिँदा ठूलो जाल प्रयोग गर्नुपर्ने, दिउँसो मात्र माछा मार्नुपर्ने र क्षेत्र तोक्नुपर्ने व्यवस्था छ। तर कागजमा सीमित नियम र कमजोर अनुगमनका कारण गोही संरक्षण चुनौती मानिने विज्ञहरू बताउँछन्।
नेपाल बाहेक भारत, पाकिस्तान, बङ्गलादेश, म्यानमार र इरानसम्म फैलिएको मगर गोही नदीको सन्तुलनका लागि अपरिहार्य प्राणी हो। मगर गोहीको उपस्थितिले नदी, माछा, चराचुरुंगी र मानव जीवनको सन्तुलन जोगाउन मद्दत पुग्दछ।




