फाइल तस्बिर
काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले समानुपातिकतर्फका उम्मेदवारहरूको सूची सच्याउने भएको छ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग एकताको औपचारिक निर्णय भएपछि जसपा नेपालले समानुपातिक सूची सच्याउने भएको हो।
जसपा नेपाल र लोसपाबीच एकता गर्ने आइतबार औपचारिक निर्णय भएको थियो। एकीकरणको औपचारिक निर्णय नभएकाले निर्वाचन आयोगमा दुवै दलले समानुपातिकतर्फ छुट्टाछुट्टै सूची बुझाएका थिए।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक सूची सच्याउन विषयमा छलफल गर्न जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव निर्वाचन आयोग पुगेका छन्।
उनले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग समानुपातिक सूचीका विषयमा छलफल गरेका छन्।
जसपा नेपालका केन्द्रीय समन्वय समिति सदस्य मनिष मिश्रले समानुपातिकतर्फको सूची सच्याउने विषयमा छलफल गर्न आफूहरू निर्वाचन आयोग पुगेको बताए। उनले प्रमुख निर्वाचन आयुक्तसँग यो विषयमा सकारात्मक छलफल भएको जानकारी दिए।
मिश्रका अनुसार पार्टी एकीकरण भइसकेकाले अब समानुपातिकतर्फ एकीकृत बन्द सूची बुझाइनेछ।



