इटहरी– नेपाली कांग्रेसको प्रस्तावित विशेष महाधिवेशनमा कोशी प्रदेशका जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरूको सहभागिता मिश्रित देखिएको छ। तेह्रथुम र धनकुटाबाट सबैभन्दा धेरै ८० देखि ९० प्रतिशत प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुने तयारीमा रहेको कांग्रेस संस्थापनसँग असन्तुष्ट नेताहरूले दाबी गरेका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेसको विशेष महाधिवेशन पुस २७ गते देखि २९ गतेसम्म काठमाडौँमा बोलाएका छन्।
सुनसरीका प्रतिनिधिहरू गोप्य रूपमा काठमाडौँतर्फ गइरहेको एक नेताले बताए। क्षेत्र नम्बर १ ले महाधिवेशनमा जाने निर्णय गरिसकेको भए पनि क्षेत्र नम्बर २ र ४ ले कुनै ठोस निर्णय गर्न सकेका छैनन्। सुनसरी–३ मा सभापति दीपक ढकालले प्रतिनिधिलाई महाधिवेशनमा जान आग्रह गरे पनि विजय गच्छदारको आंशिक प्रभावका कारण कतिपय प्रतिनिधि सहभागी नहुने निर्णयमा पुगेका छन्। मोरङमा महाधिवेशन प्रतिनिधिलाई सहभागी गराउन नेता गुरुराज घिमिरे र सुनील शर्माले समन्वय गरिरहेका छन्। सो समन्वयमा कांग्रेस कोशी प्रदेश सहमहामन्त्री खड्ग फागो सक्रिय छन्।
झापामा पार्टीगत रूपमा औपचारिक निर्णय नभए पनि आन्तरिक रूपमा प्रतिनिधिहरू जाने क्रम जारी छ। कृष्ण सिटौलाको गृह जिल्ला तथा प्रदेश सभापति उद्धव थापाको प्रभावका कारण झापाबाट आंशिक प्रतिनिधि मात्रै जान लागेको जिल्ला तहका नेताहरू बताउँछन्। यद्यपि पार्टी महामन्त्री विश्वप्रकाश शर्माको प्रभावले केही प्रतिनिधि महाधिवेशनमा सहभागी हुने तयारीमा छन्।
इलाममा जिल्ला सभापति डम्बर खड्काले महाधिवेशनमा नजान निर्देशन जारी गरेका छन्। तर शेखर कोइराला समूहका भेषप्रसाद आचार्यसहितको टोली भने काठमाडौँतर्फ प्रस्थान गरिसकेको एक नेताले बताए। पाँचथर र ताप्लेजुङबाट प्रतिनिधिहरू आन्तरिक रूपमा सहभागी हुने तयारीमा रहेको नेताहरूले बताएक छन्।
संखुवासभामा विशेष महाधिवेशन र नियमित महाधिवेशन पक्षधर दुई धार देखिएका छन्। खोटाङमा प्रदेश महामन्त्री भूपेन्द्र राईको प्रभावले प्रतिनिधिहरू रोकिएका छन् भने भोजपुर, ओखलढुंगा र सोलुखुम्बुबाट औपचारिक निर्णय नभए पनि आन्तरिक रूपमा प्रतिनिधिहरू जाने तयारीमा रहेको नेताहरूले बताए। संस्थापन र इतरबीचको शक्ति संघर्षका कारण जिल्लास्तरमै फरक–फरक निर्णय देखिन थालेपछि कांग्रेसको विशेष महाधिवेशन थप अन्योलग्रस्त बनेको छ।




