यमन श्रेष्ठको स्वरमा गीत ‘लैजा खबर ए हावा’ नेवारी भाषामा रेकर्ड

हिमाल प्रेस २१ पुष २०८२ ११:४९
22
SHARES
यमन श्रेष्ठको स्वरमा गीत ‘लैजा खबर ए हावा’ नेवारी भाषामा रेकर्ड

काठमाडौँ- विपना थापा तथा पल शाहको मुख्य भूमिकामा रहेको फिल्म ‘आ बाट आमा’ मा नेवारी गीत राखिने भएको छ। निर्माण टिमले फिल्ममा समावेश गीत ‘लैजा खबर ए हावा’ लाई नेवारी भाषामा रेकर्ड गरेको छ।

सार्वजनिक भएसँगै यो गीतले चर्चा पाएको थियो। फिल्मका निर्देशक चन्द्र पन्तले नेवारी समुदायलाई लक्षित गर्दै नेवारी भाषामा गीत रेकर्ड गरेको बताए।

नेवारी भर्सनमा गायक तथा कलाकार यमन श्रेष्ठको स्वर छ। यमनले नेपाली भाषाको गीत नेवारीमा गाउन पाउँदा एकदमै खुसी लागेको बताए।

‘यो गीत मैले युट्युबमा सुनिरहेको थिए। अहिले निकै चर्चित पनि छ,’ उनले गीतको प्रशंसा गर्दै भने, ‘आ बाट आमाको टिमले मलाई यो गीत नेवारी भाषामा पनि गर्नुपर्‍याे भनेर अफर गर्नुभयो। गीतको नेवारी शब्द पनि आफैँ मिलाउनुहोस् भन्नुभयो। अनि मैले भन्दा पनि बुबा (मदनकृष्ण श्रेठ) लाई ट्रान्सलेट गरिदिनु भने। बुबाले नेवारी भाषामा बनाइदिनुभएको हो।’

स्टुडियोमा निकै खुशी देखिएका यमनले मेरो भन्दा बुबाको नेवारी भाषा राम्रो भएकाले दुबैले सहकार्यमा लेखेको बताए। युट्युबमा गीत हेर्दा निकै मन छोएको र आफैँले नेवारीमा गाउँदा भावुक बनेको सुनाए। ‘फिल्ममा त एकदमै रोएको देखिन्छ। यहाँ गाउँदा आफू पनि रोइएछ,’ उनले भने।

नेपाली भाषामा गीत गायक रवि ओडले गाएका छन्। निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको फिल्ममा आगामी माघ १६ गतेबाट प्रदर्शन हुनेछ। फिल्मको कथा सन्तान परदेशिन लाग्दा नेपालमा रहेका बुबाआमाकाे मनसँग कस्ताे हुन्छ भन्ने देखाउन खाेजिएकाे छ।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारले अभिनय गरेका छन्।

प्रकाशित: २१ पुष २०८२ ११:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast