प्रतिनिधिमूलक तस्बिर।
कोशी अस्पताल विराटनगरका वरिष्ठ फिजिसियन डा. रोशन खड्का जाडो मौसमले शरीरको ताप सन्तुलन र रक्तसञ्चार प्रणालीमै प्रत्यक्ष असर पार्ने भएकाले यो समयमा टाउको दुखाइको समस्या लिएर आउने बिरामीको सङ्ख्या बढेको बताउँछन्।
‘जाडोमा शरीरको तापक्रम घट्दा रक्तनली सङ्कुचित हुन्छन्। यसले टाउकोतर्फ जाने रक्तप्रवाहमा कमी ल्याउछ। त्यसैले धेरै मानिसले टाउको भारी भएको, च्यापिएको जस्तो भएको वा निरन्तर दुखेको अनुभव गर्छन्’ उनले भने। उनका अनुसार जाडो मौसममा देखिने टाउको दुखाइको अर्को प्रमुख कारण शरीरमा पानीको कमी (डिहाइड्रेसन) हो।
‘जाडोमा तिर्खा कम लाग्छ, त्यसैले मानिसले पानी कम पिउँछन्। तर शरीरलाई पानीको आवश्यकता जाडोमा पनि उत्तिकै हुन्छ। पानीको कमी हुँदा टाउको दुखाइ पहिलो सङ्केतका रूपमा देखिन सक्छ’, उनी भन्छन्। चिसो हावाले घाँटी र काँध क्षेत्रका मांसपेशीमा प्रत्यक्ष असर पार्ने हुँदा टाउको पछाडिबाट शुरु भएर अगाडितर्फ फैलिने दुखाइ देखिने गरेको चिकित्सकको अनुभव छ। विशेषगरी मोटरसाइकल चलाउँदा घाँटी नछोप्ने, राति चिसोमा सुत्ने तथा लामो समय एउटै आसनमा बस्ने व्यक्तिमा यस्तो समस्या बढी देखिने गरेको डा खड्का बताउँछन्। ‘यो दुखाइ समयमै ध्यान नदिए विस्तारै दीर्घरूप लिन सक्छ’, उनी भन्छन्।
त्यसैगरी जाडो मौसममा नाक बन्द हुने, अनुहार भारी महसुस हुने, आँखाको वरिपरि च्यापिएको जस्तो दुख्ने तथा टाउकोको अगाडिको भाग दुख्ने समस्या जाडोमा बढ्ने गर्छ।साइनसमा सङ्क्रमण वा एलर्जी भएका व्यक्तिमा समयमै उपचार नगरे टाउको दुखाइ लामो समयसम्म रहने र कहिलेकाहीँ जटिल अवस्थासमेत आउन सक्ने चिकित्सकको भनाइ छ।



