काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीबाट आगामी फागुन २१ को प्रतिनिधिसभा चुनावमा समानुपातिक उम्मेदवारको सूचीमा परेका दुई सेलिब्रेटीले आफ्नो नाम फिर्ता लिएका छन्।
गायिका डा. त्रिशला गुरुङ र गायक तथा अभिनेता आसिफ शाहले उम्मेदवारी फिर्ता लिएका हुन्। उनीहरूले सामाजिक सञ्जाल फेसबुमार्फत उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका छन्।
गायिका गुरुङ उज्यालो नेपाल पार्टीबाट उम्मेदवारको सूचीमा परेकी थिइन्। डाक्टरसमेत रहेकी गुरुङले गहन आत्ममूल्यांकन पश्चात उक्त उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको बताएकी छन्। साथै आगामी दिनमा आफ्नो कला र स्वास्थ्य क्षेत्रलाई निरन्तरता दिने र यसैबाट नागरिक समाज र समुदायप्रति स्वतन्त्र रुपमा योगदान गर्ने बताएकी छन्।
‘उज्यालो नेपाल पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) बाट समानुपातिक प्रतिनिधित्वका लागि उम्मेदवारका रूपमा सिफारिस गरिनु मेरो लागि ठूलो सम्मान र जिम्मेवारीको विषय हो। यस अवसरका लागि पार्टी नेतृत्व, सम्बन्धित निकाय तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति म हार्दिक आभार व्यक्त गर्दछु’, उनले लेखेकी छिन्, ‘यद्यपि, गहन आत्ममूल्यांकन पश्चात मैले उक्त उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको जानकारी गराउन चाहन्छु। यस निर्णयको मूल कारण भनेको मेरो पेशागत जिम्मेवारीप्रति पूर्ण समर्पण गर्दै कला र स्वास्थ्य क्षेत्रमा निरन्तर रूपमा सेवा प्रदान गर्नु तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पुर्याउने मेरो दृढ संकल्प हो।’
त्यस्तै गायक तथा अभिनेता शाहले आफू प्रत्यक्ष निर्वाचनमा होमिने भएकोले उम्मेदवारी फिर्ता लिएको बताएका छन्। आफ्नो योजना पहिलेदेखि नै प्रत्यक्षमा लड्ने तयारी रहेता पनि साथीहरूको आग्रहले समानुपातिकमा नाम आएको उनले खुलाएका छन्।
उनले लेखेका छन्, ‘म राजनीतिमा यदि आउनै परे प्रत्यक्ष निर्वाचनमार्फत जनतासँगै उभिएर उम्मेदवारी दिन चाहन्छु भनेर स्पष्ट रूपमा भनेको थिएँ। तर साथीहरूको सुझाव थियो, देशव्यापी चुनावी अभियान आवश्यक छ, त्यसैले अहिले समानुपातिक प्रणालीमै अघि बढ्नुपर्छ।त्यसै अनुरूप समानुपातिक प्रणाली अन्तर्गत मेरो उम्मेदवारी दर्ता भयो।’
स्टाटसमार्फत उनले काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फको उम्मेदवार बन्ने निर्णय रहेको बताएका छन्।
‘प्रत्यक्ष निर्वाचनमा उठ्ने निर्णय स्पष्ट छ। प्रत्यक्ष निर्वाचनमा उठ्नुपर्छ, उठ्ने नै हो’, उनले थप भनेका छन्, ‘हामी काठमाडौँ-५ बाट प्रत्यक्ष उम्मेदवारी दिन पूर्ण रूपमा तयार छौं।देशभन्दा ठूलो केही हुँदैन।’



