काठमाडौँ– पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिरहाको बरियारपट्टि गाउँपालिका–१ नरगी खण्डमा शनिबार मोटरसाइकल र जिप एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
बाक्लो कुहिरोका कारण पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ६ प ८६१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा प्रदेश ०१–०७२ ब ००८२ नम्बरको जिप आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा नरगी गाउँका २३ वर्षीय मोटरसाइकल चालक मो. नदिम अन्सारी गम्भीर घाइते भएकामा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकलमा सवार करिब २२ वर्षीय सैतुल्ला मियाँसहित दुवै जनालाई तत्काल उद्धार गरी सदरमुकाम सिरहास्थित सहजा अस्पताल लगिएको थियो।
उपचारका क्रममा अन्सारीको केही समयपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए। मियाँको सोही अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार दुर्घटनापछि जिप सडकबाट तल पल्टिएको थियो भने मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।





