काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित भई विशेष महाधिवेशनको विकल्प खुलेको भन्दै संयुक्त वक्तव्य जारी गरेपछि पार्टीभित्र तरंग उत्पन्न भएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले पार्टीका निर्णय सभापतिको नेतृत्वमा हुने स्पष्ट गर्दै दुई जना महामन्त्रीले मात्र महाधिवेशन स्थगित वा विशेष महाधिवेशन गर्ने निर्णय गर्न नसक्ने बताएका छन्। ‘पार्टी भनेको सभापतिको नेतृत्वमा चल्छ। पार्टीले निर्णय गर्छ। न म निर्णय गर्न सक्छु, न दुई जना महामन्त्रीले,’ महतले एक अन्तर्वार्तामा भने।
उनले नियमित महाधिवेशन पार्टीकै निर्णयअनुसार तोकिएको स्मरण गराउँदै दुई दिनअघि बसेको कार्यसम्पादन समितिको बैठकमा पनि विशेष महाधिवेशनको प्रस्ताव नआएको बताए। ‘त्यो बैठकमा नियमित महाधिवेशन स्थगित गरेर विशेष महाधिवेशन गर्ने प्रस्तावसमेत उहाँहरूले राख्नुभएको थिएन,’ उनले थप स्पष्ट पारे।
महतका अनुसार नियमित महाधिवेशन स्थगित भएको होइन केवल तोकिएको मितिमा हुन नसकेको मात्र हो। समय अभाव र कठिनाइको जानकारी हुँदाहुँदै पनि महामन्त्रीहरूकै प्रस्तावमा महाधिवेशनको मिति तय गरिएको र त्यसलाई कार्यसम्पादन समितिले अनुमोदन गरेको उनले बताए।
क्रियाशील सदस्यता टुंग्याउने जिम्मेवारी महामन्त्रीहरूकै संयोजनमा रहेको तर त्यसमा सहमति जुट्न नसक्दा महाधिवेशन प्रक्रिया अगाडि बढ्न नसकेको महतको भनाइ छ। ‘यो सामूहिक जिम्मेवारी हो। जिम्मेवारी अरूलाई पन्छाएर विशेष महाधिवेशनको कुरा गर्नु उचित हुँदैन,’ उनले भने।



