रास्वपा समानुपातिक सूचीमा चितवन प्राथमिकता, ११० मध्ये २१ नाम चितवनबाटै

हिमाल प्रेस १५ पुष २०८२ १३:२० | Tuesday, December 30, 2025
24
SHARES
रास्वपा समानुपातिक सूचीमा चितवन प्राथमिकता, ११० मध्ये २१ नाम चितवनबाटै चितवनमा आयोजित जनसभामा रास्वपा सभापति रवि लामिछाने। फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार राति ढिलो गरी समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। बालेन साह र कुलमान घिसिङसँग एकीकरणको प्रक्रिया टुंगिन समय लागेकाले सूची बुझाउन ढिलाइ भएको पार्टी स्रोतले जनाएको छ।

रास्वपाले तीन समूहबीच भागबन्डा गर्दै कुल ११० जनाको बन्दसूची पेस गरेको हो। तर सूचीमा एउटै जिल्लाबाट अत्यधिक संख्यामा नाम समावेश गरिएपछि त्यसले चर्चा पाएको छ। पार्टी सभापति रवि लामिछानेको निर्वाचन क्षेत्रसमेत रहेको चितवन जिल्लाबाट मात्रै २१ जनाको नाम बन्दसूचीमा राखिएको छ।

चितवनबाट समावेश गरिएका २१ जनामध्ये ५ जना आदिवासी जनजाति र १६ जना खस आर्य समूहका छन्। रास्वपाले आदिवासी जनजाति समूहमा कुल ३२ जनाको नाम समावेश गरेको छ। उक्त समूहमा चितवनका डा.मनोहर प्रधान, विश्व राई, धर्मलाल तामाङ, टासी लाक्पा शेर्पा र सुदेश गुरुङको नाम परेको छ।

यस्तै, खस आर्य समूहमा पनि ३२ जनाको नाम समावेश गरिएको छ। तीमध्ये चितवनबाट मात्रै १६ जनाको नाम समावेश छ जुन खस आर्य समूहको ५० प्रतिशत हो। चितवनबाट समावेश १६ जनामध्ये ८ जना पुरुष र ८ जना महिला छन्।

खस आर्य पुरुषतर्फ चितवनबाट सचिन ढकाल, सुदिप ढकाल, अनुपकुमार उपाध्याय, गोविन्द नारायण, दुर्गाबहादुर घिमिरे, जनक न्यौपाने, पवन शाही र टीकाराम दाहाल छन्।

अनुपकुमार उपाध्याय कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीका अध्यक्षसमेत हुन्। उनको नाम कुलमान घिसिङको कोटाबाट बन्दसूचीमा समावेश गरिएको हो।

खस आर्य महिलातर्फ चितवनबाट विदुषी राणा, श्रद्धा कुँवर, मञ्जु भुसाल, रचना खतिवडा क्षेत्री, सिर्जना वली, सीतादेवी पाण्डे, सरला लामिछाने र प्रभा ढकाल छन्।

रास्वपा सभापति रवि गत निर्वाचनमा चितवन-२ बाट निर्वाचित भएका थिए। यस्तै पार्टीका केन्द्रीय सदस्य हरि ढकाल चितवन-१ बाट निर्वाचित भएका थिए।

प्रकाशित: १५ पुष २०८२ १३:२० | Tuesday, December 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast