काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबिच भएको ‘बृहत् एकता’ सम्बन्धी सहमति रास्वपाको केन्द्रीय समितिबाट औपचारिक रूपमा अनुमोदन भएको छ ।
आइतबार पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको केन्द्रीय समितिको विशेष बैठकले उक्त सहमतिको विस्तृत छलफलपछि सर्वसम्मत रूपमा अनुमोदन गरेको हो । बैठकले राष्ट्रहितका लागि आँट, त्याग र आशालाई प्रतिबिम्बित गर्ने यस सहमतिको पूर्ण कार्यान्वयनमा पार्टी प्रतिबद्ध रहने निर्णय गरेको छ ।
केन्द्रीय समितिले सहमतिमार्फत मुलुकमा व्याप्त भ्रष्टाचार, बेथिति र कुशासनको अन्त्य गर्दै सुशासन, समुन्नति, लोकतन्त्र र सामाजिक न्यायको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेको छ ।
यसअघि शनिवार राति करिब सात घण्टा चलेको वार्तापछि बालेन्द्र शाहलाई सरकार प्रमुख र रवि लामिछानेलाई पार्टी सभापतिको भूमिकामा राख्दै एक ठाउँमा उभिने सहमति भएको थियो । सोही सहमतिलाई आज केन्द्रीय समितिले अनुमोदन गरेको रास्वपाले जनाएको छ ।




