सर्लाहीमा ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

हिमाल प्रेस १२ पुष २०८२ २०:५० | Saturday, December 27, 2025
28
SHARES
सर्लाहीमा ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु प्रतिनिधिमूलक तस्बिर।

मलङ्वा (सर्लाही)- सर्लाहीको हरिपूर्वा नगरपालिकामा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ। हरिपूर्वा–६ स्थित पोखरी नजिकै इँटा लोड गरिएको मधेस प्रदेश ०३–००१ त ८७०४ नम्बरको ट्याक्टरले आज दिउँसो ठक्कर दिँदा स्थानीय अफरोज साह फकिरकी दुई वर्षीया छोरी सोहानी साह फकिरको मृत्यु भएको हो।

बाटो काट्ने क्रममा ट्याक्टरले ठक्कर दिँदा बालिका गम्भीर घाइते भएकी थिइन्। घाइते बालिकालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलङ्वामा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।

उनका अनुसार प्रहरीले ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ। मृतक बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको उनले बताए।

त्यस्तै सर्लाहीको धनकौल गाउँपालिका–५ स्थित भित्री सडकखण्डमा शुक्रबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। ज १ त ७०१३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक धनकौल–४ मैनाथपुरका ३० वर्षीय अरुणराय यादवको सोही ट्याक्टरले च्यापिएर मृत्यु भएको अवस्थामा आज बिहान शव फेला परेको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए। रासस

प्रकाशित: १२ पुष २०८२ २०:५० | Saturday, December 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast