बाबुरामलाई बालेनले भने- संसद्‌मा भिजिनरी सांसदको अभाव भयो, तपाईँ चुनाव लड्नुस्

हिमाल प्रेस १० पुष २०८२ २०:३९ | Thursday, December 25, 2025
1.5k
SHARES
बाबुरामलाई बालेनले भने- संसद्‌मा भिजिनरी सांसदको अभाव भयो, तपाईँ चुनाव लड्नुस् डा.बाबुराम भट्टराई र मेयर बालेन शाह। तस्बिर : डा.भट्टराईको फेसबुकबाट।

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई संसद्‌मा हुनुपर्ने र त्यसका लागि चुनाव लड्न आग्रह गरेका छन्। बिहीबार ज्वागलमा भएको गोप्य छलफलमा मेयर शाहले विघटित संसद्‌मा भिजिनरी सांसद कोही पनि नभएको अवस्थामा अबको संसद्‌मा डा.भट्टराई सांसदको रूपमा हुनैपर्ने बताएका हुन्।

२०७९ सालको प्रतिनिधिसभा सदस्य चुनावमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई डा.भट्टराईले गोरखा-२ छाडेको प्रसंग उठाउँदै मेयर शाहले आगामी चुनाव भने लड्न आग्रह गरे। ‘तपाईँले चुनाव जित्नुहुन्थ्यो किन छोड्नुभयो प्रचण्डलाई?’ बालेनको भनाइ उद्द्धृत गर्दै दुई नेताबीचको छलफलमा सहभागी बाबुराम निकट एक नेताले हिमालप्रेससँग भने।

वैकल्पिक राजनीतिका लागि धेरै मेहनत गरेको बताउँदै बालेनले बाबुरामलाई सधैँ अमूर्त अभिभावक बनेर मात्र नहुने बताए। ‘वैकल्पिक राजनीतिका लागि उहाँले यतिधेरै मेहनत गर्नु भएको छ। अस्तिको संसद्‌मा भिजिनरी मान्छे कोही पनि भएन। प्रदीप गिरी पनि हुनुहुन्थेन। तपाईँ अब चुनाव लड्नुपर्छ। तपाईँ संसद्‌मा हुनुपर्छ। अमूर्त अभिभावक भनेर हुँदैन डा.साब। तपाईँ संसद्‌मा हुनुपर्छ,’ बालेनको भनाइ उद्द्धृत गर्दै ती नेताले थप भने।

मेयर शाहसँगको भेटपछि सञ्चारकर्मीसँग डा.भट्टराईले आफू नयाँ र वैकल्पिक शक्ति एक भएर अघि बढ्न सुझाव दिएको बताए। ‘नयाँ र वैकल्पिकहरू जति पनि छन्, एक भएर अघि बढ्नुस्, विचार र एजेन्डा केन्द्रित हुनुस्, मेरो समर्थन रहन्छ भनेँ,’ डा.भट्टराईको भनाइ थियो।

अग्रगामी राजनीति, आर्थिक समृद्धि, सुशासन र समावेशितामा केन्द्रित रहन डा.भट्टराईको सुझाव थियो। डा.भट्टराईले २०७२ सालमा नयाँ संविधान जारी भएलगत्तै नयाँ वैकल्पिक शक्तिको अभियान चलाउँदै आएका छन्।

प्रकाशित: १० पुष २०८२ २०:३९ | Thursday, December 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast