समानुपातिक उम्मेदवार छान्दै रास्वपा

हिमाल प्रेस १० पुष २०८२ १७:०६ | Thursday, December 25, 2025
40
SHARES
समानुपातिक उम्मेदवार छान्दै रास्वपा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ। पार्टीले आज (बिहीबार) र भोलि (शुक्रबार) ‘ब्लूप्रिन्ट संवाद’ तथा ‘शून्य समय’ कार्यक्रममार्फत आकांक्षीहरूको प्रस्तुति राख्ने व्यवस्था मिलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए।

दुई दिन पछि प्रारम्भिक निर्वाचनअन्तर्गत आन्तरिक मतदान (प्राइमरी भोटिङ) हुने जनाइएको छ। प्रवक्ता झाकाअनुसार यस प्रक्रियामा देशभरबाट निवेदन दिएका करिब चार सय आकांक्षी सहभागी छन्।

तीमध्येबाट ११० जनाको नाम समानुपातिक बन्दसूचीमा समावेश गरी निर्वाचन आयोगमा बुझाइने छ। उम्मेदवार छनोट तथा प्रतिस्पर्धाका सबै कार्यक्रम काठमाडौँको गोंगबुस्थित बिजी ब्याङ्क्वेटमा सञ्चालन भइरहेको छ।

प्रवक्ता झाले यही पुस ५ गते आयोजित छलफलमा विशेष कारणवश सहभागी हुन नसकेका वा सहभागी हुन नपाएका समानुपातिक उम्मेदवारका आकांक्षीहरूलाई पुनः छलफलमा सहभागी गराइने बताए।

प्रारम्भिक निर्वाचन बाहेकका छनोट प्रक्रिया सम्पन्न गर्ने जिम्मेवारी पार्टी प्रवक्ता झा र सचिवालय सदस्य दीपक बोहोरालाई दिइएको छ। आवश्यकताअनुसार पार्टी उपसभापति डा. स्वर्णिम वाग्ले र महामन्त्री कविन्द्र बुर्लाकोटीले उक्त प्रक्रियाको अनुगमन गर्ने बताइएको छ।

प्रवासमा रहेका उम्मेदवारका आकांक्षीहरूको मूल्यांकन ‘भर्चुअल’ माध्यमबाट गरिने छ। उम्मेदवार छनोट समितिको प्रस्ताव तथा पार्टी उपसभापति डोलप्रसाद अर्याल र वाग्लेसँगको सहमतिमा छनोट प्रक्रियामा सहजीकरण गर्न केन्द्रीय समितिका सदस्यहरूसमेत सहभागी गराइने रास्वपाले जनाएको छ।

प्रकाशित: १० पुष २०८२ १७:०६ | Thursday, December 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast