नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला
काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन केही लम्बिन सक्ने बताएका छन्।
मंगलबार काठमाडौँमा आयोजित किशुनजीको जीवन र व्यक्तित्व विषयक कार्यक्रममा कोइरालाले आफू तोकिएको समयमा नै महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको भन्दै क्रियाशील सदस्यका विषयमा भएको ढिलाइले महाधिवेशन लम्बिन सक्ने देखिएको बताएका हुन्।
नयाँ क्रियाशील सदस्यता वितरणका क्रममा देशभर सिरियल नम्बर नै नभएको काजगात पठाएपछि आफू चनाखो भएको उनले बताए। कोइरालाले महाधिवेशन केही लम्बिए पनि त्यसले खासै फरक नपर्ने धारणा राखे।
उनले विशेष अधिवेशनको माग गर्ने र चुनावपछि महाधिवेशन गर्नुपर्छ भन्ने समूहले आफूलाई खेलाउन खोजेको महसुस भएपछि चुनावअघि नियमित महाधिवेशन हुनुपर्छ भन्नेमा आफू अडिग रहेको बताए।
शान्ति सुरक्षाको पूर्णरूपमा प्रत्याभूति नभएसम्म चुनाव हुन नसक्ने भन्दै उनले चुनावको नाममा धाँधली गरेर कसैलाई जित्न नदिने उल्लेख गरे। उनले देश यही अवस्थामा रहन्छ वा रहँदैन भन्नेमा चिन्ता गर्नुपर्ने अवस्था देखिएको बताए।
कोइरालाले आगामी दिनमा नेपालमा फेरि अर्को दुर्घटना हुन सक्ने भन्दै त्यसलाई रोक्न सबैै गम्भीर हुनुपर्नेमा जोड दिए। जेनजीको आन्दोलनका क्रममा भदौ २४ गतेको घटना नेपालको राष्ट्रियता कमजोर भएर घटेको हिंसा भएको उनको भनाइ छ।




