४५ वर्षीय नितिनलाई बीजेपीले किन सुम्पियो नेतृत्व?

हिमाल प्रेस २ पुष २०८२ १३:५४
36
SHARES
४५ वर्षीय नितिनलाई बीजेपीले किन सुम्पियो नेतृत्व? नितिन नवीन।

छिमेकी भारतमा नितिन नवीनलाई भाजपा (बीजेपी) को कार्यवाहक अध्यक्ष (वर्किङ प्रेसिडेन्ट) नियुक्त गरिएको छ। बीजेपीको कमान्ड सम्हाल्ने उनी पहिलो बिहारी नेता हुन्। उनको नियुक्ति सामान्य विषय होइन। यसलाई पार्टीभित्रको भरोसा, संगठनात्मक परिवर्तन र आगामी चुनावको रणनीतिको संकेतका रूपमा लिइएको छ। नितिनको नियुक्तिले पार्टी नेतृत्वमा नयाँ पुस्ताको समय थालनी भइसकेको सन्देश दिएको छ। यो निर्णय हरेक तहमा युवाको सहभागिता बढाउने संकेत पनि हो।

प्रधानमन्त्री नरेन्द्र मोदीले नितिन नवीनलाई एक कर्मठ कार्यकर्ताका रूपमा प्रशंसा गरेका छन्। मोदीले आफ्नो ‘एक्स’ ह्यान्डलमा लेखेका छन्, ‘उनी एक युवा र परिश्रमी नेता हुन्। उनीसँग संगठनको राम्रो अनुभव छ। बिहारमा विधायक र मन्त्रीका रूपमा उनको कार्य धेरै प्रभावकारी देखिएको छ। उनी आफ्नो विनम्र स्वभावका साथै भुइँतहमा काम गर्ने चरित्रका रूपमा चिनिन्छन्। उनको ऊर्जा र प्रतिबद्धताले आगामी समयमा हाम्रो पार्टीलाई अझ सशक्त बनाउने मलाई पूर्ण विश्वास छ।’

नितिनले यो अवसर दिएकोमा प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री र केन्द्रीय नेतृत्वका सबैप्रति आभार व्यक्त गरेका छन्। उनले भने, ‘म पार्टीको कार्यकारी राष्ट्रिय अध्यक्ष बन्नेछु भनेर सपनामा पनि सोचेको थिइनँ। यति ठूलो जिम्मेवारी पाएको जानकारी पाउँदा तत्काल विश्वास लागेन। यो भाजपामा मात्र सम्भव छ। यसै पार्टीमा साधारण कार्यकर्तालाई पनि कार्यकारी अध्यक्षको जिम्मेवारी दिन सकिन्छ।’

नितिनले विद्यार्थी नेताका रूपमा आफ्नो राजनीतिक सक्रियता बढाएका थिए। पिताको निधनपछि उनले आफ्नो पढाइ बीचमै छोडे र पिताको विरासत सम्हाल्न राजनीतिमा होमिए। उनका पिता स्व. नवीनकिशोर सिन्हा भाजपाका ठूला नेतामध्ये एक थिए। नितिन  शालीन र प्रचारभन्दा टाढा रहने स्वभावका छन्। उनी सहजै भेट्न सकिने खालका छन्। उनलाई भेट्न पार्टीका नेता तथा कार्यकर्ताहरूका लागि निकै सजिलो हुने गरेको छ।

नितिनले सन् २००८ मा भारतीय जनता युवा मोर्चा (भाजयुमो) को राष्ट्रिय कार्यसमिति सदस्य तथा युवा संगठनको सह-इन्चार्जका रूपमा काम गरे। २०१० देखि २०१३ सम्म उनी भाजयुमोको सह-इन्चार्ज रहे र २०१६ देखि २०१९ सम्म उनी युवा मोर्चाको बिहार प्रदेश अध्यक्ष रहेका थिए।

सन् २००६ मा पटनाको बाँकीपुर सिटबाट उनले पहिलो पटक विधायकको चुनाव जितेका थिए। उनी २०२५ मा पाँचौँ पटक विधायक बनेका हुन्। फेब्रुअरी २०२१ मा उनलाई पहिलोपटक मन्त्री बनाइएको थियो। त्यसपछि उनी २०२४ देखि २०२५ सम्म मन्त्री रहे। बीजेपीको कार्यकारी राष्ट्रिय अध्यक्ष बनेपछि नितिन नवीनले बिहार सरकारको मन्त्री पदबाट राजीनामा दिएका छन्। उनी सडक निर्माण र नगर विकास दुई मन्त्रालयका मन्त्री थिए।

नितिनको जन्म २३ मे १९८० मा पटनामा भएको हो। उनले सन् १९९६ मा पटनाको सेन्ट माइकल्स स्कुलबाट १० कक्षा उत्तीर्ण गरे र १९९८ मा दिल्लीको एक विद्यालयबाट इन्टरमिडिएट (१२ कक्षा) पूरा गरे। उनका एक छोरा नैतिक नवीन र एक छोरी नित्या नविरा छन्। विधानसभा चुनावमा दर्ता गरिएको स्वघोषणापत्रअनुसार उनीविरुद्ध पाँचवटा मुद्दा दर्ता भएका छन्।

संगठनमा पनि नितिनको राम्रो पकड छ। उनी लामो समयदेखि पार्टीका लागि काम गर्दै आएका छन्। सन् २०१९ मा पार्टीले उनलाई सिक्किममा चुनाव प्रभारी बनाएर खटाएको थियो। पछिल्लो विधानसभा चुनावअघि पार्टीले नितिनलाई छत्तिसगढको चुनाव प्रभारीको जिम्मेवारी सुम्पियो। उनको उत्कृष्ट चुनावी व्यवस्थापनका कारण त्यहाँ बीजेपीले निर्णायक अग्रता हासिल गरेको थियो।

सन् २०१८ मा १५ सिट ल्याएको बीजेपी २०२३ मा ५४ सिट जित्ने पार्टी बन्यो। त्यहाँ उनले चुनावअघि संगठनात्मक स्तरमा धेरै परिवर्तन गरे। कार्यकर्ताहरूको बलियो सञ्जाल (नेटवर्क) तयार पारे। सानासाना कार्यक्रमहरू र व्यक्तिगत सम्पर्क अभियान चलाए, जसले पार्टीको छवि बदलियो। कांग्रेस सरकारलाई सत्ताबाट बाहिर निकालेपछि संगठनमा नितिनको राजनीतिक उचाइ निकै बढ्यो। उनले राष्ट्रिय स्तरमा पहिचान पाए।

नितिन कायस्थ जातिका हुन्। बिहारमा यो समुदायको जनसंख्या एक प्रतिशतभन्दा कम भए तापनि कायस्थहरू भाजपाका परम्परागत र भरोसायोग्य मतदाता रहँदै आएका छन्।’

यशवन्त सिन्हापछि यस समुदायका कुनै नेतालाई यति उच्च संगठनात्मक पदको जिम्मेवारी दिइनु आफैँमा एउटा राजनीतिक संकेत हो। देशभर कायस्थहरूको जनसंख्या करिब डेढदेखि दुई करोडको बीचमा रहेको मानिन्छ। बिहार, उत्तर प्रदेश र बंगालमा उनीहरूको ठूलो जनसंख्या छ। बंगालमा उनीहरूको संख्या २७ लाखको हाराहारीमा रहेको बताइन्छ। पश्चिम बंगालमा कायस्थहरूको जनसंख्या तीन प्रतिशतभन्दा बढी छ। नितिनले २०२१ को बंगाल चुनावमा पनि काम गरेका थिए। उनले त्यहाँ गैरहिन्दी भाषी र गैरबंगाली मतदाताहरूलाई बीजेपीका पक्षमा ल्याउन सक्छन्।

हिन्दी भाषी, दलित तथा आदिवासी र केही क्षेत्रका उर्दू भाषी मुस्लिमहरूले बीजेपीलाई भोट दिँदै आएका छन्। अब उनले बंगलाभाषी मतदाताहरूमा पनि प्रभाव जमाउन सक्छन्। यद्यपि बंगालमा चुनाव बिहारमा जस्तो जातीय आधारमा नभई भाषिक आधारमा हुने गर्दछ। २९४ सिट रहेको पश्चिम बंगाल विधानसभामा २०२१ को चुनावमा बीजेपीले ७७ सिट जितेको थियो। सन् २०२६ मा नितिन नवीनले यहाँ पनि छत्तिसगढकै जस्तो विजयको झण्डा फहराउन सक्लान् वा नसक्लान् भन्ने कुरा त चुनावपछि नै थाहा हुनेछ। यतिचाहिँ निश्चित छ कि बीजेपीले दोस्रो तहको नेतृत्वअन्तर्गत पुस्तान्तरणको थालनी गरिसकेको छ।

नितिन पूर्ण इमानदार र दिइएको जिम्मेवारी तत्परताका साथ पूरा गर्न सक्षम मानिन्छन्। उनको यही समर्पणलाई देखेर पार्टीले उनलाई यति ठूलो जिम्मेवारी सुम्पँदै राष्ट्रिय राजनीतिको केन्द्रमा ल्याएर उभ्याएको हो। भारतीय सञ्चारमाध्यमको सहयोगमा

प्रकाशित: २ पुष २०८२ १३:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast