रास्वपा सभापति लामिछाने दिल्लीमा

हिमाल प्रेस १८ जेठ २०८३ १७:२३ | Monday, June 1, 2026
26
SHARES
रास्वपा सभापति लामिछाने दिल्लीमा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारतको नयाँदिल्ली पुगेका छन्। भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा रास्वपा सभापति लामिछाने पाँचदिने भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेका हुन्।

सभापति लामिछानेलाई नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका छन्।

रास्वपा सभापति लामिछानेसँगै महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, उनकी श्रीमती निकिता पौडेललगायत भ्रमणमा सहभागी छन्।

भारत भ्रमणका क्रममा उनले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्न कार्यक्रम रहेको छ। रास्वपाले जनाएअनुसार लामिछानेले भारतीय जनता पार्टीका शीर्ष नेतृत्वसँग समेत छलफल गर्नेछन्।

त्यस्तै उनको त्यहाँ बासोबास गर्ने नेपाली समुदाय तथा रास्वपाका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ। साथै उनले व्यक्तिगत रूपमा अयोध्या भ्रमण गर्ने कार्यक्रम छ।

भ्रमणको मुख्य उद्देश्य रास्वपा र भाजपाबीच पार्टीस्तरीय सम्बन्ध स्थापना गर्नुरहेको रास्वपाले जनाएको छ। साथै सांगठनिक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनमुखी राजनीतिक पहुँचसम्बन्धी विषयमा आदान–प्रदान हुने बताइएको छ।

भाजपाले भ्रमणका क्रममा रचनात्मक संवाद हुने अपेक्षा गरेको जनाएको छ।

सभापति लामिछानेको यो भ्रमण प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार संसदमा नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिपछि उत्पन्न राजनीतिक बहसका बीच भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast