रुद्रकली र खगेन्द्र प्रसादलाई कतार उड्दै

हिमाल प्रेस २८ मंसिर २०८२ १३:१८ | Sunday, December 14, 2025
18
SHARES
रुद्रकली र खगेन्द्र प्रसादलाई कतार उड्दै

चितवन- चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई आगामी पुस २ गते कतार पठाइने भएको छ। प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको हो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा. हरिभद्र आचार्यका अनुसार यही डिसेम्बर १७ तारिखमा कतार पठाउन लागिएको हो। भैरहवा विमानस्थलबाट हात्ती पठाउन लागिएको हो। चार्टर कार्गो विमानमार्फत हात्ती पठाइने उनले बताए। जहाजको समय मिलाएर बाटोको अवस्था हेरी सौराहाबाट अघिल्लो दिन हात्ती लगिने तयारी छ।

कतारको दोहास्थित अलखोर पार्कको चिडियाखानामा राख्नका लागि यी हात्ती पठाउन लागिएको हो। रुद्रकली सात वर्ष र खगेन्द्र प्रसाद छ वर्षका छावा हुन्। रुद्रकली पूजाकली र खगेन्द्र कोशीकलीको बच्चा हो। खगेन्द्र र रुद्रको बाबु जंगली भाले हात्ती रोनाल्डो भएको हात्ती प्रजनन केन्द्रका प्रमुख मनिपुरण चौधरीले जानकारी दिए।

हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका पोथी हात्ती जंगली भाले हात्ती रोनाल्डो, ध्रुवे, गोविन्देजस्ता शक्तिशाली हात्तीसँगको सहवासमा गर्भवती हुने गर्दछन्। सरकारले हात्ती दिने निर्णय गरेपछि सबै प्रक्रिया पूरा गरी पठाउन लागिएको हो।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले हात्तीको नाप गरी हात्ती राख्न खोर निर्माण गरेको छ। खोरसहित ट्रकमा राखेर सौराहाबाट अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनी लगिनेछ। लुम्बिनीबाट कार्गो विमानमा राखी कतार लगिनेछ। हात्तीसँगै निकुञ्जका पशु प्राविधिक दिनेश ढकालको नेतृत्वमा दुई जना हात्तीका माउते पनि कतार जाँदै छन्।

प्रकाशित: २८ मंसिर २०८२ १३:१८ | Sunday, December 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast