काठमाडौँ- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार दुई खेल हुँदैछन् । सोमबार ‘ब्रेक’ दिइएको प्रतियोगितामा आज दुई खेल हुन लागेका हुन्।
मंगलबारको पहिलो खेलमा जनकपुर र चितवनले प्रतिस्पर्धा गर्नेछन् । यो खेल बिहान ११: ४५ मा सुरु हुँदैछ । दोस्रो खेलमा पोखरा र कर्णाली अपराह्न ४ बजे भिड्ने छन्।
साविक विजेता जनकपुर यो सिजना खाता खोल्न संघर्ष गरिरहेको छ । चार खेलमा जितबिहीन जनकपुरका लागि सान्त्वना जितको खाँचो छ । चार अंक जोडेको चितवन भने जनकपुरलाई हराउँदै प्लेअफ पुग्ने लक्ष्यका साथ मैदानमा हुनेछ।
दोस्रो खेलमा पोखरा र कर्णाली याक्स भिड्दैछन् । दुवै टिम संघर्ष गरिरहेका छन्। तालिकामा पोखरा र कर्णालीको दुईदुई अंक मात्र छ । कर्णालीले पाँच खेल खेलिसकेको छ भने पोखराले चार खेल मात्र खेलेको छ । यी दुई टिमसमेत तालिकामा संघर्ष गरिराखेका छन् ।
१९ खेल सकिँदा अंक तालिका भने रोचक बनेको छ। अंक तालिकामा अपराजित सुदूरपश्चिम १० अंकसहित प्लेअफमा पुगिसकेको छ। एक खेल मात्र खेल्न बाँकी रहेको काठमाण्डुले दुई खेल गुमाएर ८ अंक बनाएको छ। पाँच खेलमा एक खेल गुमाएको विराटनगरको समेत समान ८ अंक रहेको छ। रनरेटका आधारमा काठमाडौं दोस्रो स्थानमा उक्लिएको छ भने विराटनगर दोस्रो स्थानमा छ।
चितवन र लुम्बिनीको समान चार अंक छ। लुम्बिनीले पाँच खेल खेलिसकेको छ भने चितवनले चार खेल मात्र खेलेको छ। रनरेटका आधारमा चितवन चौथो स्थानमा छ भने लुम्बिनी पाँचौं स्थानमा छ। कर्णाली र पोखराको दुईदुई अंक छ। तालिकामा कर्णाली छैटौं र पोखरा सातौं स्थानमा छन् भने पुछारमा रहेको जनकपुर अंकबिहीन छ।
एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन्। नेपाल क्रिकेट सङ्घ ९क्यान०ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुँदै छ।
एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्। शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ। प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ।
एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।



