इटहरी- पार्टी नेतृत्व, विशेष गरी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गर्ने एमाले नेतामाथि कोशी प्रदेश कमिटीले कारबाही अघि बढाएको छ।
नवौं पूर्ण बैठकले इटहरी उपमहानगरपालिकाका पूर्वमेयर तथा प्रदेश कमिटी सदस्य द्वारिकलाल चौधरीलाई ६ महिनाका लागि पार्टी सदस्यता निलम्बन गर्दै जिम्मेवारीबाट समेत मुक्त गरेको हो।
सामाजिक सञ्जाल र मिडियामा नेतृत्वविरुद्ध टिप्पणी गर्दै पार्टीभित्र ‘अराजकता फैलाउने’ गतिविधि गरेको आरोप चौधरीमाथि लगाइएको छ। बैठकले पटक-पटक चेतावनी दिए पनि नटेरेको भन्दै कारबाही अनिवार्य भएको निष्कर्ष निकालेको छ।
चौधरीमाथिको कारबाहीसँगै प्रदेश कमिटीले नेतृत्वविरुद्ध बोल्ने वा पार्टी लाइन विपरीत अभिव्यक्ति दिने अन्य नेतामाथि स्पष्टीकरण सोधिएको छ। इटहरी निवासी प्रा.डा. बद्रीविशाल पोखरेल र काशीनाथ दंगाललाई सार्वजनिक रूपमा पार्टी हितविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधिएको छ।
पोखरेलले पनि ओलीको आलोचना गर्दै आएका छन्। दंगाल भने विद्या भण्डारीको पक्षमा खुलेरै लागेपछि स्पष्टीकरण सोधिएको हो।
यसै गरी झापाका मनोरथ तिवारीलाई पार्टीविरोधी गतिविधिमा संलग्न रहेको भन्दै कारबाही गरिएको छ भने ध्रुब शिवाकोटीलाई अदालतबाट फौजदारी कसुरमा सजाय भएपछि पदमुक्त गरिएको छ। खास गरी शिवाकोटीले आफ्नै धर्म छोरीलाई बलात्कार गरेको आरोप लागे पनि पार्टीले संरक्षण गर्दै आएको थियो।


