विद्युतीय शवदाह गृहमा दाहसंस्कारका लागि ४ घण्टासम्म लाइन

हिमाल प्रेस ३ मंसिर २०८२ १५:०८
14
SHARES
विद्युतीय शवदाह गृहमा दाहसंस्कारका लागि ४ घण्टासम्म लाइन

काठमाडौँ- पशुपति आर्यघाट परिसरस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कारका लागि कति समय कुर्नुपर्ला? तपाईँलाई लाग्दो हो पालो पर्खन नपर्ला। तर शवदाह गृह सञ्चालनको जिम्मा पाएको पशुपति क्षेत्र विकास कोषका कारण पछिल्ला केहीदिनयता कम्तीमा तीनदेखि चार घण्टासम्म शवदाहका लागि लाइनमा राख्नुपर्ने बाध्यता देखिएको छ।

विद्युतीय गृहमा मंगलबार साँझ ६:३० बजेसम्म करिब ११ शवदाह गरिएका कोषले जनाएको छ। ‘विदेशबाट शव ल्याउन तीन हप्ता लाग्यो, यहाँ चार घण्टा लाइन बस्दा के हुन्छ? घाटको उचित व्यवस्थापन कहिले होला?’, मृतकका एक आफन्तले पालो कुर्दै प्रश्न गरे। केही आफन्तजनले आफूहरूले शवदाहका लागि पाँच घण्टासम्म कुर्नु परेको गुनासो गरेका छन्।

कोषका निमित्त सदस्यसचिव शुभाषचन्द्र जोशीले भने,‘विद्युतीय शवदाह गृहका उपकरणमध्ये एकमात्र सञ्चालनमा रहेकाले दाहसंस्कारका लागि लाइनमा बस्नुपर्ने बाध्यता आएको हो। बिग्रिएका विद्युतीय शवदाह उपकरण मर्मतका लागि कोषले केही प्रयास गरेको छैन? भन्ने जिज्ञासामा उनले भने,‘आशा गरौँ छिट्टै नतिजा आउँला।’

केहीले आर्यघाटमा शवदाह गर्न निकै लामो लाइन कुर्नुपर्ने भएकाले आफूहरूले विद्युतीय शवदाह गृहमा शव ल्याएको बताएका छन्। पछिल्ला दिनमा विशेष गरेर विविध कारणले विदेशमा मृत्यु भएकाको विद्युतीय शवदाह गृहमा संस्कारदाह हुँदै आएको कोषले जनाएको छ।

पशुपति आर्यघाटमा शवको दाहसंस्कार गरेबापत् दाउराबाट जलाउने घाटमा रु १५ हजार र विद्युतीय शवदाह गृहमा रु चार हजार शुल्क तोकिएको छ। करिब रु ११ करोडको लागतमा बनेको विद्युतीय शवदाह गृह २०७२ माघ १० गतेदेखि सञ्चालनमा आएको हो। विद्युतीय शवदाह गृहमा एउटा शव जल्न कम्तीमा ४५ मिनेट लाग्ने जनाइएको छ।

यसैबीच, विद्युतीय शवदाह गृह भवन र परिसरमा रहेका शौचालय सेवाग्राहीले प्रयोग गर्ने अवस्थामा छैनन्। नाक, मुख थुनेर शौचालय प्रयोग गर्नुपर्ने अवस्था रहेको सेवाग्राहीको भनाइ छ।

प्रकाशित: ३ मंसिर २०८२ १५:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast