बाबुराम, जनार्दन र सन्तोषको पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक, चुनाव चिह्न आँखा, संयोजक को?

रमेश दवाडी २ मंसिर २०८२ ११:५९
264
SHARES
बाबुराम, जनार्दन र सन्तोषको पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक, चुनाव चिह्न आँखा, संयोजक को?

काठमाडौँ- केही दिनयता राजनीतिक वृत्तमा एकता र टुटफुट चलिरहेको छ। एकातिर १० दलबीच कम्युनिस्ट एकता भन्दै नेकपा माओवादीलगायतका दल एकजुट हुँदा यिनै दल फुटेर तितरबितर पनि बनेका छन्। माओवादीसहित १० दल मिलाएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक बन्दा साविक माओवादीकै उपमहासचिव जनार्दन शर्मा भने अहिले अन्य दल र अभियन्तासँग हातेमालो गरिरहेका छन्।

माओवादीसँग एकतामा नगएका जनार्दन अहिले पूर्वमाओवादी नेता एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) नेसपा नयाँ शक्तिका अभिभावक डा.बाबुराम भट्टराईसँग नजिक छन्। बाबुरामसामु पुग्नेमा जनार्दन एक्ला भने होइनन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वप्रमुख सचेतक सन्तोष परियार समेत छन्। उनीहरूबीच आगामी आइतबार (मंसिर ७ गते) एकता हुने सहमति भएको छ।

पार्टीको नाम र चुनाव चिह्न

आइतबार घोषणा हुने पार्टीको नाम ‘प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)’ रहने स्रोतले जनाएको छ। अहिले जनार्दनले प्रगतिशिल अभियान चलाइरहेका छन्। जुन अभियानको संयोजकमा पूर्वमाओवादी नेता सुदन किराँती तोकिएका छन्। अहिले प्रदेश तहमा यो अभियान चलिरहेको छ। यही अभियानलाई पार्टीका रूपमा अघि बढाउन लागिएको हो। त्यस्तै पार्टीको चुनाव चिह्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को ‘आँखा’ रहने छ। यसअघि कात्तिक २८ गते सोब, किराती र परियारबीच ५ बुँदे सहमति भएको थियो। त्यसैको आधारमा एकताको प्रक्रिया अघि बढाइएको हो।

जनार्दनले ‘कम्युनिस्ट’ छाडेपछि बन्यो सहमति

कुनै बेला माओवादीबाट नयाँ शक्ति निर्माणका लागि भन्दै बाबुरामले पार्टी परित्याग गर्दा तीव्र आलोचना हुन्थ्यो। तत्कालीन माओवादी वृत्तमा माओवादी र कम्युनिस्ट छाडेर बाबुरामले गलत बाटो रोजेको चर्चा हुन्थ्यो। अहिले प्रचण्डले समेत माओवाद छाडेका छन्। पार्टीको नाममा रहेको ‘माओवाद’ शब्द मिल्काएर नेपाली कम्युनिस्ट पार्टीको संयोजक छन् प्रचण्ड।

उनीसँग असन्तुष्ट रहेका उपमहासचिव जनार्दनको पार्टीमा समेत अब माओवाद नहरने भएको छ। उनी निकट एक नेताका अनुसार अब जनार्दनले पार्टीको नाममा कम्युनिस्ट पनि राख्ने छैनन्। यसअघि एकीकृत समाजवादी छाडेका घनश्याम भुसाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग पनि एकताका लागि जनार्दन गएका थिए। तर उनीहरूले ‘कम्युनिस्ट’ शब्द अगाल्ने बताए पछि त्यहाँबाट जनार्दन अलग्गिएको नेताहरू बताउँछन्। विप्लव र घनश्याम पनि अहिले आफ्नै पार्टी र अभियान लिएर अघि बढेका छन्।

को बन्ला पार्टी अध्यक्ष?

नयाँ पार्टीको नेतृत्व बाबुराम र जनार्दनबाहेकका नेताले सम्हाल्नेछन्। हाल नयाँ शक्तिबाट सोब, प्रगतिशिल अभियानबाट किराती र रास्वपा छाडेका सन्तोषबीच एक जना  संयोजक बन्ने लगभग निश्चित छ। तर उनीहरूबीच कसलाई संयोजक बनाउने अहिले नै टुंगिएको छैन। नेसपा नयाँ शक्तिका एक नेताका अनुसार सामूहिक नेतृत्वको विषयमा पनि छलफल भइरहेको छ। ती नेताले हिमालप्रेसलाई भने,‘को संयोजक हुने भन्ने अहिले सहमति भएको छैन। सामूहिक नेतृत्वको विषय पनि छलफलमा छ। ७ गतेसम्म टुंगिन्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast