सुदूरपश्चिममा धान उत्पादनमा वृद्धि

हिमाल प्रेस १ मंसिर २०८२ १७:१९
10
SHARES
सुदूरपश्चिममा धान उत्पादनमा वृद्धि

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षमा धानको उत्पादकत्वमा वृद्धि भएको छ। खेती गर्ने तरिका सुधार गरी किसान व्यावसायिक बन्न थालेपछि धान उत्पादनमा वृद्धि भएको कृषि विकास निर्देशनालय सुदूरपश्चिमले जनाएको छ। निर्देशनालयका अनुसार यस वर्ष ६ लाख ८७ हजार ८७७ ‘मेट्रिकटन’ धान उत्पादन भएको छ। गत वर्ष सुदूरपश्चिममा ६ लाख ३६ हजार २९६ मेट्रिकटन धान उत्पादन भएको थियो।

आर्थिक वर्ष २०८०/८१ मा ६ लाख ७२ हजार ९२८ मेट्रिकटन धान उत्पादन भएकामा आर्थिक वर्ष २०७९/८० मा ६ लाख ४८ ९४२ मेट्रिकटन धान उत्पादन भएको थियो। सुदूरपश्चिममा एक लाख ७७ हजार २३० ‘हेक्टर’ क्षेत्रफलमा धान उत्पादन हुँदै आएको छ।

निर्देशनालयका सूचना अधिकारी केशवराज पाण्डेयले सुदूरपश्चिममा धान उत्पादनमा वृद्धि हुँदै आएको बताए। ‘सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा धेरै धान उत्पादन हुन्छ,’ उनले भने, ‘खेती गर्ने तरिकामा सुधार र उन्नत जातको बीउका कारण धान उत्पादनमा वृद्धि भएको हो।’

पछिल्लो समयमा सरकारले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको बीउ दिँदै आएको छ। यसबाहेक किसानले प्राङ्गारिक मलको प्रयोग, सिचाँइको उपलब्धता र सरकारी अनुदान तथा प्राविधिक सहयोगले उत्पादनमा वृद्धि भएको हो।

‘उन्नत जातको बीउले १० देखि १५ प्रतिशतसम्म उत्पादन बढाउँछ,’ सूचना अधिकारी पाण्डेयले भने,‘खेती गर्ने तरिकाले पनि उत्पादनमा फरक पार्छ।’ निर्देशनालयका अनुसार सुदूरपश्चिमका अन्य जिल्लाको तुलनामा कैलाली र कञ्चनपुरमा धानको उत्पादकत्व बढी छ। कञ्चनपुरमा चार दशमलव छ र कैलालीमा चार दशमलव पाँच प्रतिहेक्टर उत्पादत्व रहेको छ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी धर्मबहादुर साउँदले उन्नत जातको बीउबिजन र सिँचाइ सुविधाका कारण उत्पादनमा वृद्धि भएको बताए। कृषि ज्ञान केन्द्रले किसानलाई अनुदानमा सिँचाइ सुविधा उपलब्ध नभएको ठाउँमा साना सिँचाइ जडान समेत गर्ने गरेको उनले बताए।

गत वर्ष ज्ञान केन्द्रले यहाँका नौ स्थानीय तहमा ७७६ साना सिँचाइ (ट्युबेल) जडान गरेको थियो। ‘हामीले किसानलाई ५० प्रतिशत अनुदानमा बीउबिजन र सिँचाइ सुविधा उपलब्ध गराउँदै आएका छौँ,’ उनले भने,‘जसका कारण यहाँ धान उत्पादनमा वृद्धि हुँदै गएको छ।’ उनका अनुसार कञ्चनपुरमा ३९ हजार ६५० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ।

कञ्चनपुरमा हाल साना सिँचाइबाहेक महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ। सुदूरपश्चिमको कैलाली र कञ्चनपुरलाई अन्न भण्डारका रुपमा चिनिन्छ। यहाँको उत्पादनले सुदूरका पहाडी जिल्लामा समेत खाद्य आपूर्ति हुने गरेको छ।

प्रकाशित: १ मंसिर २०८२ १७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast