यसरी सम्भव भयो बाबुराम र जनार्दनबीच सहकार्य

रमेश दवाडी १ मंसिर २०८२ १६:०९
258
SHARES
यसरी सम्भव भयो बाबुराम र जनार्दनबीच सहकार्य

काठमाडौँ- तत्कालीन नेकपा माओवादीमा लामो समयसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नजिकका सहयात्री जनार्दन शर्मा त्यतिबेला डा.बाबुराम भट्टराईका प्रखर आलोचक थिए। माओवादी युद्धकालीन अवधिबाटै प्रचण्डको शैली, निर्णय र राजनीतिक चरित्रको प्रशंसा गर्ने प्रमुख नेतामा गनिन्थे जनार्दन। प्रचण्डको खम्बा रहेका जनार्दनसँगै वर्षमान पुनले पनि बाबुरामको आलोचना गर्थे।

पछिल्लो समय माओवादी पार्टीभित्र सिद्धान्त, जनयुद्धको विचारधारा र संगठनात्मक चरित्र क्षय हुँदै गएको विषयमा निरन्तर आवाज उठाउने नेतामा उनै जनार्दन थिए। यही निरन्तर टकरावलाई प्रचण्डले विद्रोहका रूपमा व्याख्या गरे। समयक्रममा त्यो मतभेद गहिरिँदै भिन्नभिन्न राजनीतिक कित्तामा पुगेको छ। प्रचण्डले माओवादी त्यागेका छन्। उनले एकीकृत समाजवादीलगायतका दलसँग मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन गरेका छन्। प्रचण्डको विरोध गर्दै आएका जनार्दनलाई पछिल्लो कार्यशैलीमा चित्त बुझेन। उनले प्रचण्डको साथ छाडिदिएर अर्कै बाटो रोजेका छन्।

प्रचण्डलाई छाड्ने जनार्दन एक्ला नेता भने होइनन्, बाबुराम भट्टराई, मोहन वैद्य ‘किरण’, नेत्रविक्रम चन्द ‘विप्लव’, रामबहादुर थापा ‘बादल’ कुनै बेला प्रचण्डकै वरिपरि हुन्थे। वैद्य र विप्लव भिन्नभिन्न दलमा छन् भने बादल एमालेका छन्।

बाबुरामले भने २०७२ सालमा संविधान जारी भएपछि माओवादी त्यागेका थिए। वैकल्पिक राजनीतिको बाटोमा हिँडेका उनी अहिले त्यही धारमा सक्रिय छन्। त्यो बेला जनार्दनले बाबुरामलाई ‘माओवादी सिद्धान्त छाड्ने नेता’ भन्दै आलोचना गरेका थिए। झन्डै एक दशकपछि राजनीतिक परिस्थितिको बदलिँदो स्वरूप, नेतृत्वप्रतिको असन्तुष्टि र वैकल्पिक राजनीतिक दिशाको खोजीले फेरि दुवै नेताको बाटो एकै बिन्दुमा आइपुगेको छ। बाबुरामका आलोचक र प्रचण्डका मुख्य सहयोद्धा शर्मा अब बाबुरामसँग मिलेका छन्।

यो मिलनको मुख्य टर्निङ पोइन्ट भनेको गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन हो। आन्दोलनले दलहरूलाई झकझक्यायो। पुस्तान्तरण, वैकल्पिक शक्ति निर्माण र पुरानै पार्टी संरचनाबाट बाहिरिनुपर्ने बहस तीव्र बनायो।

जनार्दन निकट स्रोतहरूका अनुसार जेनजी आन्दोलनपछि प्रचण्ड नेतृत्व पार्टीले अब मुलुकलाई अगाडि लैजान सक्दैन। यही निष्कर्षले जनार्दन वैकल्पिक धारमा जोडिएका छन्। बाबुरामले यो निष्कर्ष दशकअघि नै निकालेर प्रचण्डको साथ छाडेको उनी निकट नेताहरू बताउँछन्।

बाबुराम र जनार्दनलाई मिलाउने प्रक्रियामा युवा पुस्ताका नेताहरू मानुषी यमी भट्टराई, सुदन किराँती, दुर्गा सोबलगायतले पुलको काम गरेका हुन्। बाबुराम आफैँ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी लगायत दलभित्र वैकल्पिक सोच भएका नेतासँग संवाद चलाइरहेका थिए।

यस्तै खुला संवादको सन्दर्भमा गत फागुन २८ मा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) द्वारा आयोजित ‘नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनीतिको औचित्य र आधार’ अन्तरसंवाद कार्यक्रममा दुवै नेता (बाबुराम–जनार्दन) को वैचारिक दूरी फेरि सतहमा आएको थियो। बाबुरामले महाधिवेशनले पारित गरेको प्रतिवेदनमा बहस चलाउँदा जनार्दनले प्रतिवेदनको आलोचना गर्दै भनेका थिए, ‘पहिलाको जस्तो गहिराइ छैन, लेखन खस्किएको छ।’ नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजाल, जनार्दन शर्मालगायत कार्यक्रमबीचमै निस्किएका थिए। अन्त्यमा बाबुरामले भनेका थिए, ‘उहाँले प्रतिवेदन अध्ययनै गर्नुभएको छैन। सरसर्ती हेरेर बुझिँदैन।’ यति कडा सार्वजनिक टिप्पणी भए पनि यो बहसले दुवैबीच संवादको ढोका खोलिदिएको विश्लेषण गरिएको थियो।

प्रचण्ड गुटबाट जनार्दन निरन्तर पेलानमा परे। प्रचण्डको निर्णय शैली, गुटबन्दी र आलोचनालाई विद्रोहको रूपमा हेरिने प्रवृत्तिले उनी थप अलगिँदै गए। जेनजी आन्दोलनपछि १० कम्युनिस्ट पार्टी एकतामा जाँदा पनि जनार्दन सहभागी भएनन्। कात्तिक १८ मा उनले ‘प्रगतिशील अभियान, नेपाल’ घोषणा गरेपछि वैकल्पिक राजनीतिक खोजलाई खुलेर अगाडि सारे। त्यसपछि उनले कम्युनिस्ट र गैरकम्युनिस्ट दुवै नेतृत्वसँग संवाद तीव्र बनाएका थिए।

कात्तिक २० मा बाबुरामको अगुवाइमा भएको वैकल्पिक शक्ति निर्माण सम्बन्धी छलफलमा जनार्दनको प्रस्तुतिलाई ‘नयाँ र परिमार्जित’ रहेको भन्दै दुर्गा सोबले प्रशंसा गरिन्। उनका अनुसार जनार्दनले जेनजी परिवर्तनलाई आत्मसात् गर्दै राजनीतिमा नयाँ मोड लिनुपर्ने धारणा राखे। यही बैठकपछि राजनीतिक वृत्तमा वैकल्पिक मोर्चा बन्ने संकेत देखियो यद्यपि रास्वपा पक्षबाट अन्ततः सन्तोष परियार मात्र अघि बढे।

जनार्दनको राजनीतिक फड्को यत्तिमा रोकिएन। कात्तिक २१ मा उनले पुनर्गठित नेकपा एकीकृत समाजवादीका संयोजक घनश्याम भुसालसँग मिलेर नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग छलफल गरे। सँगै अगाडि बढ्ने सहमति गरे। त्यो सहमति स्थायी एकतामा परिणत हुन सकेन। यस क्रममा बाबुरामसँग जनार्दनको संवाद झनै बाक्लिँदै गयो। बाबुराम निकट स्रोतका अनुसार ६ पटकभन्दा बढी गोप्य भेट र निरन्तर वार्तापछि राजनीतिक सहयात्राको आधार तय भयो।

वाम राजनीति नजिकबाट अध्ययन गर्ने विश्लेषक नरेन्द्रजंग पिटर नेपालमा राजनीति प्रायः प्रतिक्रियाबाट उत्पन्न हुने र त्यहाँ सिद्धान्तको कुरा नहुने बताउँछन्। पिटरको भनाइमा प्रचण्डसँगको असन्तुष्टि, संगठनगत असहजता र वैचारिक विच्छेदबाट पैदा भएको प्रतिक्रिया यो मिलनको मुख्य कारण हो। उनी प्रतिक्रियाबाट उत्पन्न आवेग लामो समय नटिक्ने बताउँछन्। उनी भन्छन्, ‘प्रयोगधर्मी व्यक्तित्व भएका बाबुरामले जनार्दनसँगको सहकार्यलाई अर्को प्रयोगका रूपमा हेरेका छन्। तर आवेगलाई संस्थागत रूप दिन सकिएन भने राजनीतिक अवतरण कठिन हुन्छ।’

प्रकाशित: १ मंसिर २०८२ १६:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast