निजी विद्यालयको प्रधानाध्यापक चुनौतीपूर्ण जिम्मेवारी हो : रञ्जना प्रधान [भिडियोसहित]

हिमाल प्रेस ३० कार्तिक २०८२ १६:१२
162
SHARES
निजी विद्यालयको प्रधानाध्यापक चुनौतीपूर्ण जिम्मेवारी हो : रञ्जना प्रधान [भिडियोसहित]

काठमाडौँ- ललितपुरको नाइटिंगेल इन्टरनेसनल सेकेन्डरी स्कुलमा तीन दशकभन्दा बढी समय बिताइसकेकी रञ्जना प्रधान निजी शिक्षा क्षेत्रकै प्रेरणादायी नाममध्ये एक हुन्। २०५० सालमा साधारण शिक्षकका रूपमा विद्यालय प्रवेश गरेकी प्रधान अहिले प्रधानाध्यापकको भूमिकामा छिन्। उनी भन्छिन्, ‘म आफू प्रधानाध्यापक हुन्छु भन्ने कल्पना पनि गरेकी थिइनँ। जागिरे भएर आएको थिएँ, जिम्मेवारीले नेतृत्‍वमा ल्याइदियो।’

५० जना विद्यार्थीबाट सुरु भएको नाइटिंगेलमा रञ्जनासहितको कार्यकुशलता, समर्पण र दूरदर्शी व्यवस्थापनका कारण आज ३ हजारभन्दा बढी विद्यार्थीको रोजाइ बन्न सफल भएको छ। प्रधानाध्यापक प्रधानले निजी विद्यालयको व्यवस्थापन सहज नरहेको बताइन्। कक्षामा बसेर पढाउनुभन्दा विद्यालय सञ्चालन र व्यवस्थापन सम्हाल्नु चुनौतीपूर्ण भएको उनी बताउँछिन्। उनको अनुभवमा शिक्षकले सीमित पिरियड पढाउनुपर्ने भए पनि प्रधानाध्यापकले विद्यालयका सानाठूला सबै पक्ष चित्त बुझ्ने गरी व्यवस्थापन गर्नुपर्ने हुन्छ।

उनी भन्छिन्, ‘प्रधानाध्यापक भएपछि सबैको अभिभावक भएको जस्तो अनुभव हुन्छ।’ यही मातृत्व भाव र नेतृत्व क्षमताका कारण विद्यालयमा एकताको वातावरण कायम गर्न सफल भएको उनले बताइन्। उनले  टिमवर्कलाई विद्यालय सफलताकै मेरुदण्ड मानेकी छन्।

विद्यालयमा २५ वर्षभन्दा बढी अनुभव भएका शिक्षकहरू रहेकामा प्रधानलाई गर्व छ। नयाँ शिक्षकलाई पनि विद्यालयको लय समाउन दुईतीन वर्ष लाग्ने बताउँदै उनले संस्थामा स्थिरता र अनुशासन दुवै बलियो रहेको उल्लेख गर्छिन्। विद्यार्थीलाई क्षमताअनुसार वर्गीकृत गरेर कमजोरदेखि उत्कृष्टसम्मका सिकाइ आवश्यकताअनुसार कक्षामा मार्गदर्शन गरिनु विद्यालयको सकारात्मक अभ्यास भएको उनी बताउँछिन्। ‘राम्रो विद्यार्थी त राम्रो नै हुन्छ, हाम्रो ध्यान सधैँ कमजोरलाई माथि ल्याउनमा हुन्छ,’ उनी भन्छिन्।

नाइटिंगेलले आधुनिक शैक्षिक संरचनाको उत्कृष्ट पहिचान बनाइसकेको छ। एआई कक्षा, स्मार्ट बोर्ड, डिजिटल कक्षाकोठा, ७ पिरियडको प्रभावकारी पठनपाठन र विद्यार्थीको समग्र विकासका लागि २० प्रतिशत अतिरिक्त क्रियाकलाप यी सबै प्रधानको व्यवस्थापन दृष्टिकोणका नमुना छन्। उनी चाहन्छिन्- विद्यार्थीले सकेसम्म कक्षाभित्रै सिकून्, घरमा अभिभावक वा होम ट्युसनमा निर्भर नहोस्। यस्तो अभ्यासले बालबालिकामा दिगो सिकाइ क्षमता विकास भएको उनी बताउँछिन्।

अंग्रेजी माध्यममा अध्ययन गर्दा नेपालीमा कमजोरी देखिने समस्यालाई पनि प्रधानले स्वीकारेकी छन्। सात विषयमध्ये ६ वटा विषयका पाठ्यपुस्तक अंग्रेजीमा हुँदा विद्यार्थीले नेपाली बोल्नै नसक्ने अवस्था सिर्जना भएको बताउँदै उनले सरकारले सामाजिक विषय नेपालीमै अनिवार्य गरिदिएपछि राम्रो सुधार भएको बताइन्। नेपाली भाषाको मौलिकता जोगिनु आवश्यक रहेको उनको धारणा छ।

शिक्षकलाई स्थिर राख्न विद्यालयले दिएको सुविधा पनि उल्लेखनीय छ। सरकारी विद्यालयभन्दा २०-२५ प्रतिशत बढी तलब, बिमा सुविधा, सञ्चय कोष, दीर्घगतिमा आकर्षक सेवानिवृत्तिपछिको रकम यी सबैले शिक्षकको मनोबल उच्च राखेको प्रधानको भनाइ छ।

नाइटिंगेलमा क्षमताका आधारमा कक्षा १२ सम्म बढुवा दिनु विद्यालयको सकारात्मक संस्कृतिमध्ये एक हो। यसका अतिरिक्त विद्यार्थीलाई जीवनोपयोगी सीप दिलाउन सिलाइ–बुनाइ, पाककला जस्ता कार्यक्रम सञ्चालन गरिनु विद्यालयको व्यावहारिक शिक्षाप्रति जोडको प्रधानले बताइन्। सुरक्षाका लागि नाइटिंगेलमा अत्याधुनिक सीसी क्यामेरा छन् भने विद्यार्थीलाई सुरक्षा र सचेतनासम्बन्धी प्रशिक्षण दिइने अभ्यास पनि नियमित छ। शुल्क विद्यालय अभिभावकमैत्री छ। प्रधान भन्छिन्, ‘वार्षिक शुल्क र ट्युसन फीबाहेक अन्य शुल्क नलिने नीति अपनाएका छौँ। साथै सरकारी मापदण्डअनुसार १० प्रतिशत छात्रवृत्ति पनि प्रदान गरेका छौँ।’

रञ्जनाको भनाइमा नाइटिंगेल इन्टरनेसनल आज अनुशासन, गुणस्तर र जिम्मेवारीपूर्ण शिक्षण संस्कृतिको पहिचान बन्न पुगेको छ। प्रधानाध्यापक रञ्जनाले विद्यालयका सबैको मेहनत र व्यवस्थापन क्षमताका कारण नाइटिंगेल निजी शिक्षा क्षेत्रको एउटा प्रामाणिक, समर्पित र प्रेरकका रूपमा स्थापित भएको बताइन्।

भिडियो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast