महाधिवेशनको मितिमा सहमति जुटाउने जिम्मा ९ नेतालाई

हिमाल प्रेस २८ कार्तिक २०८२ १८:४३
84
SHARES
महाधिवेशनको मितिमा सहमति जुटाउने जिम्मा ९ नेतालाई फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको मितिमा सहमति जुटाउने जिम्मा ९ नेताले पाएका छन्। शुक्रबार बसेको अनौपचारिक केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहित ९ नेतालाई सहमति जुटाउने जिम्मा दिएको हो।

सहमहामन्त्री महेन्द्र यादवले केन्द्रीय कार्यसम्पदान समितिको अनौपचारिक बैठकले महाधिवेशन मितिको सन्दर्भमा सहमतिको प्रयास ल्याउने जिम्मा ९ जनालाई दिएको जानकारी दिए।

उनका अनुसार बैठकले कार्यवाहक सभापति खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहमान्त्री महेन्द्र यादव, पूर्वउपसभापति विमलेन्द्र निधि, विजय गच्छदार र प्रकाशमान सिंह तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई सहमतिको प्रस्ताव ल्याउने जिम्मा दिएको हो।

‘कार्यसम्पादनको अनौपचारिक बैठक बसेको थियो। महाधिवेशनको मिति तोक्ने विषयमा घनुभूत छलफल भएको छ,’ सहमहामन्त्री यादवले भने,‘सानो टिम बनाएर सहमतिको साझा प्रस्ताव ल्याउने कुरा भएको छ। यसका लागि ९ जना नेतालाई जिम्मेवारी दिइएको छ।’

उनले सहमतिको साझा प्रस्ताव ल्याउने जिम्मेवारी पाएका ९ जना नेताहरूको बैठक शनिबार बस्ने जानकारी दिए। यादवले भने,‘भोलि हामी छलफलमा जुट्दै छौँ। सकभर भोलि नै सहमतिमा पुगेर साझा प्रस्ताव तयार पार्छौँ।’

सहमहामन्त्री यादवले शनिबार सहमति नजुटे केन्द्रीय समिति बैठक स्थगित हुनसक्छ बताए। सहमतिको साझा प्रस्ताव ल्याएर केन्द्रीय समिति बैठकमा पेस हुने उनले जानकारी दिए।

‘प्रस्तावमा सहमति जुटे भोलि नै केन्द्रीय समिति बैठक बसेर पेस हुन्छ, नभए आइतबार पेस हुन्छ,’ उनले भने।

जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले चुनावअघि मंसिरमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव ल्याएका छन् भने सहमहामन्त्री यादवको चुनावपछि वैशाखमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव छ।

प्रकाशित: २८ कार्तिक २०८२ १८:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast