काठमाडौँ- नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित १० दलको एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संगठनात्मक संरचना कस्तो बन्ला भन्ने चासोको विषय बनेको छ। विगतमा प्रधानमन्त्री भइसकेका, पार्टीका शीर्ष तहमा रहेर काम गरिसकेका नेताहरूको बाहुल्य रहेकाले नेकपाको कस्तो संरचना बन्ला भन्ने जिज्ञासाको विषय बनेको हो।
हालसम्म नेकपामा संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकमा माधवकुमार नेपालको टुंगो लागेको छ। अन्य पद र वरीयता तोक्न नेताहरू गृहकार्यमा जुटेका छन्। नेकपामा प्रचण्ड पहिलो वरीयता, नेपाल दोस्रो, झलनाथ खनाल तेस्रो, वामदेव गौतम पाँचौँ, नारायणकाजी श्रेष्ठ छैटौँ र भीम रावल सातौ वरीयतामा रहने सहमति छ। यसबाहेक अन्य संगठनात्मक संरचना कस्तो हुने भन्ने बारेमा नेताहरूबीच संवाद चलिरहेको छ।
संगठनात्मक संरचनामा छलफल अघि बढिरहेको नेताहरू बताउँछन्। नेकपा स्रोतका अनुसार धेरै पार्टीको मिलनका कारण सबै संरचना जम्बो बन्ने पक्का छ। ‘साना दलहरूको भन्दा पनि माओवादी-एकीकृत समाजवादीकै नेताहरूको आकांक्षाका कारण जम्बो कमिटी बन्छ’, नेकपाका एक नेताले भने। यसैगरी भ्रातृसंगठनको नेतृत्वका विषयमा पनि छलफल अघि बढेको छ।
नेताहरूका अनुसार नेकपामा राजनीतिक समिति, सचिवालय र केन्द्रीय कमिटी अर्थात् केन्द्रीय कार्यसम्पादन समिति/संयोजन कमिटी बन्ने पक्का छ। ६ महिनाभित्रमा महाधिवेशन गरिने सहमति भएकाले केन्द्रीय कमिटी आयोजक कमिटी बन्ने नेताहरू बताउँछन्।
नेता ताज मोहम्मद मियाँका अनुसार महाधिवेशन आयोजक समिति दुई हजार सदस्यीय हुनेछ। ‘माओवादी-एकीकृत समाजवादीका सबै ल्याउँदा दुई हजार सदस्यीय बन्ने देखिन्छ’, मियाँले हिमालप्रेससँग भने।
माओवादी-समाजवादीको केन्द्रीय समिति स्वतः कमिटीमा पर्ने भए पनि अन्य दलका नेता समेत समेट्ने हुँदा जम्बो बन्नेछ। मियाँका अनुसार साढे ६ सय सदस्य राजनीतिक समिति बन्ने संवाद भइरहेको छ।
हालका पोलिट्ब्युरो सदस्यहरू रहने गरी राजनीतिक समिति बनाउने तय भएको नेताहरू बताउँछन्। हालका शीर्ष नेताहरू रहनेगरी सचिवालय बनाइनेछ। ‘३०÷३५ सदस्यीय सचिवालय बनाउने तयारी छ। ‘शीर्ष नेताहरू सबै समेटेर सचिवालय बनाइन्छ’, एक नेताले भने।
तत्काल भ्रातृ संगठनको महाधिवेशन तत्काल हुने सम्भावना छैन। दुई पार्टीको वर्चस्व रहेकाले एक संगठनले संयोजक लिँदा अर्कोले इन्चार्ज लिने लगभग निश्चित छ। जस्तो ः विद्यार्थी संगठनमा नेकपा समाजवादीले संयोजक लिए माओवादीले इन्चार्ज लिने गरी सहमति गर्ने तयारी छ। नेता जगन्नाथ खतिवडाले भ्रातृ संगठनका विषयमा संवाद चलिरहेको बताए। ‘एउटाले संयोजक लिँदा अर्कोले महासचिव लिने पनि तयारी छ’, खतिवडाले भने।
नेताहरूका अनुसार सानो संरचना माथिल्लो निकायमा नबनाउने कसरत छ। ३०-३५ सदस्य सचिवालय बनाएपछि माथिल्लो निकायमा अन्य कमिटी नबनाउने प्रयास भइरहेको खतिवडाले बताए।
‘सानो संरचना बन्दैन’, खतिवडाले भने। उनका अनुसार दुई नेता (प्रचण्ड-नेपाल) मिलेर धेरै कामकारबाही अघि बढाउने सहमति छ।
प्रचण्ड-नेपालको निरन्तरको संवादले पूर्वएमाले नेता भीम रावल नेकपामा समाहित भएका छन्। प्रचण्ड-माधवले वाक्लो संवाद गरेपछि रावल नेकपा प्रवेशका लागि तयार भएका थिए। नेकपा स्रोतका अनुसार आगामी दिनमा अभिभावकका रूपमा मात्र रहने र दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रस्तावमा रावलले सहमति जनाएका थिए।
रावलको प्रवेशपछि ०७५ सालको नेकपाको बहुसंख्यक नेता एकातिर आएको दाबी छ। अहिले प्रचण्ड-नेपालले ‘सबै वाम, एक ठाम’ भन्ने नारा लिएर जनता समाजवादी पार्टी (जसपा) लाई पनि नेकपामा समाहित गर्ने प्रयास गरेका छन्। नेकपाका एक नेताका अनुसार अशोक राई नेतृत्वको जसपासँग प्रचण्ड-माधव नै संवादमा छन्। ‘आज पनि आलोकनगरमा संवाद भएको थियो। अशोकजी लगभग भित्रिनुहुन्छ होला’, नेपालको सचिवालयका एक सदस्यले भने। राई नेकपा भित्रिन सहमत भए पनि उनको वरीयता र पदीय जिम्मेवारीमा सहमति हुन बाँकी रहेको नेताहरू बताउँछन्।




