काभ्रेमा दूध र तरकारी, चितवनमा मासु र अन्डा बढी उत्पादन

हिमाल प्रेस २५ कार्तिक २०८२ १२:५८ | Tuesday, November 11, 2025
14
SHARES
काभ्रेमा दूध र तरकारी, चितवनमा मासु र अन्डा बढी उत्पादन गोठमा उत्पादन गरिएको मल खेतमा लैजाँदै भक्तपुरका किसान। फाइल तस्बिर

काठमाडौँ– बागमती प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको भूक्षेत्र ७.५ प्रतिशतले घटेको छ। यस्ता बालीको उत्पादन ६.५ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकद्वारा जारी बागमती प्रदेशको वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२) मा उल्लेख छ।

प्रतिवेदनमा प्रमुख खाद्यान्न बालीमध्ये कोदो उत्पादन ५.२ प्रतिशतले बढेको छ भने सोही अवधिमा धान उत्पादन १.१ प्रतिशतले, मकै उत्पादन ५.० प्रतिशतले, फापर उत्पादन ५.१ प्रतिशतले, गहुँ उत्पादन १८.५ प्रतिशतले र जौ उत्पादन ३२.६ प्रतिशतले घटेको छ।

आलु बालीले ढाकेको क्षेत्रफल ११.९ प्रतिशतले, तेलहन बालीले ढाकेको क्षेत्रफल १९.८ प्रतिशतले, दलहन बालीले ढाकेको क्षेत्रफल २४.५ प्रतिशतले र भटमास बालीले ढाकेको क्षेत्रफल २६.२ प्रतिशतले घटेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ।

तरकारी तथा वागबानी उत्पादन १६.२ प्रतिशतले बढेको छ। पशुजन्य उत्पादनअन्तर्गत दूध उत्पादन १.२ प्रतिशतले र मासु उत्पादन २.९ प्रतिशतले घटेको छ भने अण्डा उत्पादन २.७ प्रतिशतले बढेको छ। यस प्रदेशका बंकै तथा वित्तीय संस्थाबाट ३.७ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ।

खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा चितवन्को हिस्सा सबैभन्दा बढी (१३.१ प्रतिशत) र भक्तपुरको हिस्सा सबैभन्दा कम (१.७ प्रतिशत) छ। तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफलमा काभ्रेको हिस्सा सबैभन्दा बढी (१९.८ प्रतिशत) र भक्तपुरको हिस्सा सबैभन्दा कम (१.८ प्रतिशत) छ। फलफूलले ढाकेको क्षेत्रफलमा सिन्धुलीको हिस्सा सबैभन्दा बढी (२८.६ प्रतिशत) र मकवानपुरको हिस्सा नगन्य रहेको छ।

यसैगरी मसला बालीले ढाकेको क्षेत्रफलमा सिन्धुलीको हिस्सा सबैभन्दा बढी (२३.९ प्रतिशत) छ भने भक्तपुरको हिस्सा सबैभन्दा कम (०.३ प्रतिशत) छ।

काभ्रेमा सबैभन्दा बढी (२२.३ प्रतिशत) दूध उत्पादन भएको छ भने रसुवामा सबैभन्दा कम (०.३ प्रतिशत) भएको छ। मासु उत्पादनमा चितवनको हिस्सा सबैभन्दा बढी (१८.६ प्रतिशत) र रसुवाको हिस्सा सबैभन्दा कम (१.१ प्रतिशत) छ।

अण्डा उत्पादनमा चितवनको हिस्सा सबैभन्दा बढी (४२.२ प्रतिशत) र रसुवाको हिस्सा सबैभन्दा कम (०.१ प्रतिशत) छ। यसैगरी माछा उत्पादनमा चितवनको हिस्सा सबैभन्दा बढी (८३.८ प्रतिशत) र रसुवाको हिस्सा नगन्य छ।

प्रकाशित: २५ कार्तिक २०८२ १२:५८ | Tuesday, November 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast