सरकारविरुद्ध खन्निने मोडमा एमाले : जारी गर्‍यो ५ बुँदे निर्देशन

हिमाल प्रेस २३ कार्तिक २०८२ १०:२१
12
SHARES
सरकारविरुद्ध खन्निने मोडमा एमाले : जारी गर्‍यो ५ बुँदे निर्देशन फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेले अन्तरिम सरकार निर्माण र संसद् विघटनविरुद्ध पालिकास्तरीय जनपरिचालन कार्यक्रम चलाउने भएको छ। अभियानलाई भव्य र व्यवस्थित बनाउन पाँच बुँदे निर्देशन जारी गरेको हो।

पार्टी महासचिव शंकर पोखरेलले जनप्रदर्शनका लागि कात्तिक २५ गते देशभर एकसाथ सञ्चालन हुने जनप्रदर्शनलाई सफल र प्रभावकारी बनाउन प्रत्येक पालिकाले समन्वयपूर्वक तयारी गर्नुपर्नेमा जोड दिएका छन्।

महासचिव पोखरेलले जारी गरेको निर्देशनमा भनिएको छ, ‘२५ गते पालिका स्तरमा हुने प्रतिगामी षड्यन्त्रविरुद्धको जनप्रदर्शनका लागि आवश्यक तयारी यी बुँदाअनुसार गरौँ।’

निर्देशनका मुख्य पाँच बुँदामा आवश्यकताअनुसार झण्डा, ब्यानर र प्लेकार्डहरू तयार गर्नुपर्ने, जनसम्पर्कका लागि ह्याण्ड माइक वा हल्का खालको साउण्ड सिस्टम प्रयोग गर्नुपर्ने, जनप्रदर्शन सञ्चालनका लागि घनावस्ती भएको बजार क्षेत्र चयन गर्नुपर्ने, जनप्रदर्शनको अन्त्यमा छोटो तर प्रभावकारी कोणसभा आयोजना गर्नुपर्ने, जनप्रदर्शनका तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा शेयर गर्दै सञ्चारमाध्यमहरूमा पठाउनुपर्ने जस्ता मापदण्ड छन्।

महासचिव पोखरेलले पार्टीका सबै तहका नेता–कार्यकर्तालाई जनसहभागिता अभिवृद्धि गर्न, अनुशासन कायम राख्न र कार्यक्रमलाई जनताको उत्साहपूर्ण सहभागितासहित सफल बनाउन आह्वान गरेका छन्। एमालेले ‘प्रतिगामी षड्यन्त्र : मुर्दावाद’, ‘विघटित प्रतिनिधिसभा : पुनर्स्थापना गर’, ‘२३ र २४ को आपराधिक घटनाको : निस्पक्ष छानबिन गर’, ‘तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई : कारबाही गर’, ‘हत्या, हिंसा, आतंक, बन्द गर।’, ‘नेकपा एमाले जिन्दाबाद’, ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’ जस्ता नारा छन्।

प्रकाशित: २३ कार्तिक २०८२ १०:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast