कांग्रेसको महाधिवेशन पुसभित्र सक्नैपर्छ : डा. शेखर कोइराला

हिमाल प्रेस २१ कार्तिक २०८२ १४:१७
10
SHARES
कांग्रेसको महाधिवेशन पुसभित्र सक्नैपर्छ : डा. शेखर कोइराला नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन चाँडै सम्पन्न गर्नुपर्ने बताएका छन्। काठमाडौँका जिल्ला सभापति र पूर्वजिल्ला सभापतिहरूसँग शुक्रबार भएको अनौपचारिक भेटमा उनले यो धारणा सार्वजनिक गरेका हुन्।

‘नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८२ मंसिर मसान्तभित्र सम्पन्न गर्नुपर्ने कुरा म धेरै अघिदेखि उठाउँदै आएको छु। समय र परिस्थितिको कारणले सो अवधिमा गर्न कठिन भएमा कुनै हालतमा पनि २०८२ पुस मसान्तभित्र सम्पन्न गर्नैपर्छ’, कोइरालाले भने।

कोइरालाले आगामी आमनिर्वाचनभन्दा अघि महाधिवेशन सम्पन्न गरी पार्टीलाई नयाँ र ताजा नेतृत्वसहित चुनावमा सहभागी गराउनुपर्ने आवश्यकता जोड दिएका छन्। उनका अनुसार पुस मसान्तसम्मको तालिका बनाउँदा निर्वाचन आयोगले तय गरेको निर्वाचन तालिकासँग मेल खाने गरी योजना बनाइनुपर्छ।

कोइरालाले नेपाली कांग्रेसलाई वर्तमान अवस्थामै एकताबद्ध, जिम्मेवार र संयमित ढंगले अघि बढाउनुपर्नेमा जोड दिए। उनले भने, ‘पार्टीसँग सम्बद्ध सबैले राष्ट्र, जनता र लोकतन्त्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ। विगतका आरोहअवरोहबाट सिक्दै आगामी दिनमा ‘एकता नै बल हो’ भन्ने भावनासहित अघि बढ्नुपर्छ।’

कोइरालाले पार्टीभित्र मेलमिलाप र एकताको वातावरण आवश्यक रहेको बताए। उनले गुट, उपगुट र विभाजनको अन्त्य गरी आग्रह–पूर्वाग्रहबिनै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। पार्टीका कार्यकर्ता मात्र होइन, बाह्य पक्षहरूले पनि नेपाली कांग्रेसको निर्णयप्रति गम्भीर निगरानी गरिरहेको उनको भनाइ छ।

प्रकाशित: २१ कार्तिक २०८२ १४:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast