नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारी। फाइल तस्बिर।
काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद्का केन्द्रीय अध्यक्ष गंगाराम तिवारीले विद्यालय कर्मचारीहरू अहिले सङ्गिन घडीमा रहेको भन्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्।
आगामी मंसिर १२ र १३ गते हुने राष्ट्रिय परिषद् बैठकका सन्दर्भमा उनले सबै जिल्ला अध्यक्ष र सामुदायिक विद्यालयका कर्मचारीहरूलाई एकजुट रहन आह्वान गरेका हुन्।
उनका अनुसार उक्त परिषद्मा विद्यालय कर्मचारीको भावी रणनीति, पछिल्ला संवाद-छलफलका विषय, सेवासुविधासम्बन्धी आन्दोलन र सरकारी सहमति कार्यान्वयनका उपायहरू साथै सर्वोच्च अदालतले पटकपटक दिएको आदेश पालन नगरेको विषयमा आगामी आन्दोलनको रूपरेखा तय गरिनेछ।
‘सेवासुविधा क्रमशः हुँदै जाने प्रक्रियामा छ र हामीले निरन्तर त्यसका लागि पहल गर्दै जानु आवश्यक छ,’ तिवारीले भने, ‘ट्रेड युनियनको मुख्य उद्देश्य पनि यही हो, कर्मचारीको हकहित सुनिश्चित गर्दै संस्थागत रूपमा अघि बढ्नु।’
उनले संगठनभित्र अनावश्यक टिप्पणी वा विभाजनले होइन, रचनात्मक सुझाव र सचेत नेतृत्वले मात्र कर्मचारीको भलो हुने बताए। ‘नेतृत्वलाई समय-समयमा सजग गराउनु पनि आवश्यक छ तर एकता नै हाम्रो मुख्य शक्ति हो,’ तिवारीको भनाइ छ।



