माओवादीसँगको सम्भावित एकतामा झाँक्रीको आपत्ति, माधव नेपालको कदममाथि प्रश्न

हिमाल प्रेस १४ कार्तिक २०८२ १३:३९ | Friday, October 31, 2025
34
SHARES
माओवादीसँगको सम्भावित एकतामा झाँक्रीको आपत्ति, माधव नेपालको कदममाथि प्रश्न नेकपा एमाले नेतृ रामकुमारी झाँक्री।

काठमाडौँ- नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकताको तयारी भइरहेका बेला समाजवादीकी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीले खुलेर असहमति जनाएकी छन्।

पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले सामाजिक सञ्जालमार्फत माओवादीसँगको एकता ‘व्यक्तिगत आवश्यकता र संकट समाधानका लागि’ भन्दै त्यसले उल्टै पार्टीलाई विभाजनतिर लैजान सक्ने चेतावनी दिएकी छन्।

उनले लेखेकी छन्, ‘व्यक्तिको आवश्यकता र संकटकालीन व्यवस्थापनका लागि भएको एकता अनेकतामा विभाजित हुन सक्छ। मान्छे थपेर बहुमत देखाउन त सकिन्छ तर त्यसले सबैको भावना बोक्छ भन्नेचाहिँ होइन।’

झाँक्रीको यो अभिव्यक्तिले पार्टीभित्र थप विवादको झिल्को देखाएको छ। पार्टी नेतृत्व माधवकुमार नेपाल एकताको पक्षमा रहे पनि झाँक्रीजस्ता नेताहरूले नेताको स्वार्थका लागि एकता खोज्नु ‘सैद्धान्तिक विचलन’ भएको टिप्पणी गर्न थालेका छन्।

एमालेबाट अलग्गिएर समाजवादी गठन गर्दा माधव नेपालको हात समातेर पक्षमा उभिएकी झाँक्री अहिले फेरि एमाले नजिक छिन्।उनले माओवादी केन्द्रभन्दा बरु एमालेसँगै एकता गर्दा उचिने हुने बताइरहेकी छन्।

नेपालकै आशीर्वादमा सहरी विकास मन्त्रीसमेत बनेकी झाँक्री अहिले नेतृत्वकै निर्णयमाथि प्रश्न उठाउँदै सार्वजनिक रूपमा फरक बाटो लिँदैछिन्। यसअघि झलनाथ खनाल र घनश्याम भुसाललगायत नेताहरूले पनि माओवादीसँग एकता गर्नु समाजवादीको सैद्धान्तिक अस्तित्वविरुद्ध जाने चेतावनी दिएका थिए।

प्रकाशित: १४ कार्तिक २०८२ १३:३९ | Friday, October 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast