दुर्गा सोबको नजरमा जेनजी आन्दोलन : प्रमुख दलका नेताहरू अझै सच्चिएनन्

हिमाल प्रेस ४ कार्तिक २०८२ १६:२०
60
SHARES
दुर्गा सोबको नजरमा जेनजी आन्दोलन : प्रमुख दलका नेताहरू अझै सच्चिएनन्

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) की विशेष महाधिवेशन आयोजक समिति संयोजक दुर्गा सोबले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई नेपालको राजनीतिक इतिहासकै विशेष परिघटना भएको बताएकी छन्। जेनजी आन्दोलनले सत्ता ढालेको छ। यो घटनालाई विश्व इतिहासमा राजनीतिक चेतनाको असाधारण रूपान्तरणका रूपमा लिन सकिने उनको बुझाइ छ।

सोबले हिमालप्रेसको कुराकानीमा भनिन्, ‘नेपालमा जेनजी आन्दोलनले सत्ता ढाल्यो। यो  युवाको आक्रोश होइन, विकृत राजनीतिक व्यवस्थाप्रतिको विस्फोट हो। हामीले यसलाई सकारात्मक रूपमा लिएका छौँ किनभने यसले परिवर्तनको संकेत दिएको छ।’

दुर्गा सोबका अनुसार नयाँ शक्तिले सुरुदेखि सुशासन, स्वाधीनता, संघीयता, समावेशिता र समृद्धिका मुद्दा उठाएको थियो। सत्तामा रहेका ठूला दलहरूले ती आवाज नसुन्दाको परिणाम मुलुकले ठूलो क्षति भोग्नुपरेको उनले बताइन्।  ‘जनताको आवश्यकता र चाहनालाई बेवास्ता गरियो। कांग्रेस, एमाले, माओवादीले जनताको जीवनस्तर सुधार गर्न सकेनन्। त्यसकै परिणामस्वरूप जनतामा विस्फोट भयो र जेनजी आन्दोलनका रूपमा प्रकट भयो। यो आन्दोलन विकृत राजनीतिप्रतिको प्रतिक्रिया हो,’ उनले भनिन्।

नेपाल समाजवादी पार्टीले अहिले विशेष महाधिवेशनको तयारीमा छ। मिति भने तोकिएको छैन। ‘हामीले माघभित्र विशेष महाधिवेशन गर्ने योजना बनाएका छौँ। मिति तोकिएको छैन तर ६ महिनाभित्र सम्पन्न गर्ने तयारीमा छौं। फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन पनि हाम्रो पार्टीको ध्यानमा छ,’ सोबले भनिन्।

सोबका अनुसार अहिले पार्टी सानो आकारको भए पनि विचारमा ठूलो छ। ‘देश बनाउने विचार हामीसँग छ। हामी आकारमा साना तर सोचमा अग्ला छौँ। राजनीति होइन, विचारको नेतृत्व हामी गरिरहेका छौँ। देश रूपान्तरणको सोच र वैकल्पिक दृष्टिकोण हाम्रो पार्टीको पहिचान हो,’ उनले भनिन्। नयाँ शक्ति सुशासनसँगै सामाजिक न्याय, समानता र समावेशी समाज निर्माणको एजेन्डामा अघि बढिरहेको सोबले स्पष्ट पारिन्।

उनले वैकल्पिक शक्तिहरूबीच सहकार्यको आवश्यकता पनि औँल्याइन्। सबै वैकल्पिक शक्ति एकजुट भएमा आफू नेतृत्व छाड्न तयार रहेको सोबले बताइन्। उनले भनिन्, ‘वैकल्पिक शक्तिहरू एकजुट भए भने म नेतृत्व पदबाट हट्न तयार छु।’

रास्वपालगायतका केही दलले वैकल्पिक राजनीतिक शक्तिको  प्रतिनिधित्व गर्न नसकेको उनको भनाइ छ। ‘सबै पार्टी वैकल्पिक र अग्रगामी हुन सक्दैनन्। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि केही वैकल्पिक मुद्दा उठाएको छ तर संघीयता र धर्मनिरपेक्षताबारे उनीहरूको धारणा अस्पष्ट छ’, उनले भनिन्।

सोबले जेनजी आन्दोलनपछि पनि ठूला नेताहरूको व्यवहारमा सुधार नदेखिएको बताइन्। ‘नेताहरूको दम्भ र अहंकारले देशलाई ठूलो नोक्सान पुगेको छ। उनीहरू सच्चिएनन् भने राजनीतिक प्रणाली नै संकटमा पर्न सक्छ। अहिलेको नेतृत्वले आत्ममूल्यांकन गर्न जरुरी छ। नत्र देश अझै ठूलो समस्यामा पर्न सक्छ,’ उनले भनिन्।

राजनीतिसँगै सोबको जीवन पनि संघर्ष र प्रेरणाले भरिएको छ। सुदूरपश्चिम प्रदेशको दुर्गम गाउँमा जन्मेकी उनी सिमान्तकृत दलित समुदायकी हुन्।

‘पढ्ने अवस्था थिएन। राजनीति बुझ्ने अवसर थिएन। पञ्चायती व्यवस्थाले राजनीति गर्न नदिने वातावरण बनाएको थियो,’ उनी सम्झिन्छिन्। अध्ययनका क्रममा कैलाली पुगेपछि उनले विद्यार्थी राजनीतिमा प्रवेश गरिन् र पछि काठमाडौँ आइन्। ‘दलित र महिला भएकै कारणले मैले समाजमा विभेद भोगेँ। त्यसैले समाज रूपान्तरण गर्नुपर्छ भन्ने सोचले मलाई राजनीतिमा ल्यायो,’ उनले भनिन्।

नयाँ शक्ति घोषणा गर्दा दलित समुदायका ३५ जना नेतामध्ये अहिले तीन जना मात्र बाँकी रहेको बताउँदै सोब भन्छिन्, ‘पार्टीमा म वरिष्ठ उपाध्यक्ष पनि रहेकी छु। अहिले विशेष महाधिवेशन आयोजक समिति संयोजकको जिम्मेवारी पाएकी छु। यो जिम्मेवारी गम्भीर र चुनौतीपूर्ण दुवै छ।’

सोबका अनुसार कुनै पनि क्षेत्रमा अगाडि बढ्न पारिवारिक पृष्ठभूमिले भूमिका खेल्छ। ‘तर मेरो हकमा त्यस्तो आधार थिएन। म उत्पीडित समुदायकी छोरी हुँ। मसँग संघर्षबाहेक केही थिएन। तर त्यही संघर्षले मलाई राजनीतिक रूपले परिपक्व बनायो,’ उनले भनिन्। देश बनाउन पद होइन विचार चाहिने बताउँदै संयोजक सोबले पुराना नेताहरूको शैली बदलिनुपर्ने बताइन्। उनले भनिन्,‘जेनजी आन्दोलनले जनतामा नयाँ चेतना जागाएको छ। अब मुलुकको जिम्मा विचारशील, नैतिक र देशप्रेमी राजनीतिक शक्तिले लिनुपर्छ।’

 वैकल्पिक राजनीतिक शक्तिको बिउ डा. बाबुराम भट्टराईले २०७२ सालमा संविधान जारी हुनुअघि रोपेका थिए। संविधान जारी भएको दिन डा. भट्टराईले ‘संविधान आधा गिलास खाली, आधा भरी’ भन्दै टिप्पणी गरेका थिए। उनले भनेका थिए, ‘अब त्यो आधा गिलास भर्नुपर्छ।’ त्यसकै अर्थ थियो संविधान मात्रै पर्याप्त छैन, जनताको जीवनस्तर बदल्न र समृद्ध नेपाल बनाउन नयाँ सोच र नयाँ बाटो चाहिन्छ। यही विचारको जगमा नयाँ राजनीतिक शक्ति निर्माण गर्ने अभियान सुरु भयो।

२०७२ सालदेखि निरन्तर चलाएको अभियान २०७३ जेठ ३० गते नयाँ शक्ति पार्टीको औपचारिक घोषणासँग संस्थागत स्वरूपमा पुगेको थियो। सोब भन्छिन्, ‘डा.भट्टराईले राजनीतिमा मात्र नभई विभिन्न पेसा व्यवसायमा लागेकासम्मलाई समेट्ने प्रयास गर्नुभयो। नयाँ सोचका नागरिक, स्वतन्त्र पेसाकर्मी र युवालाई एउटै अभियानमा ल्याउने उद्देश्य थियो।’ त्यसयता पार्टीले धेरै उतारचढाव भोगेको उनको भनाइ छ।  वैकल्पिक राजनीतिका निम्ति नयाँ शक्ति पहिलो प्रयोग भएको उनले बताइन्।

सोबले जेनजी आन्दोलनका क्रममा धेरै नेताहरू डराएर चुप लागेको बताइन्। ‘तर डा. भट्टराईले त्यसबेला पनि जनतालाई सन्देश दिनुभयो। उहाँले जेनजी आन्दोलनका मुद्दालाई बुझ्नुभयो, त्यसलाई सकारात्मक रूपमा लिएर सामाजिक सञ्जालमार्फत जनतालाई सम्बोधन गर्नुभयो,’ उनले भनिन्। उनका अनुसार आन्दोलनको मुख्य एजेन्डा सधैँ पदमा टाँसिएर बस्ने, जनताको चाहना नबुझ्ने र पदमै रहिरहने प्रवृत्तिको विरोध थियो।

‘डा. भट्टराईले पनि त्यही आत्ममूल्यांकन गर्नुभयो र पार्टीको अध्यक्ष पद छोड्नुभयो। उहाँले राजनीतिबाट होइन, पदबाट अलग भएर नयाँ राजनीतिक संस्कृतिको उदाहरण दिनुभयो,’ सोबको भनाइ छ। उनका अनुसार डा.भट्टराईले आफू पदमा बसिरहनु देश र पार्टी दुवैका लागि उचित नभएको ठानेका थिए। ‘उहाँले अब एउटा अभिभावकको भूमिकामा रहेर सबैलाई एकजुट पार्ने जिम्मेवारी लिएका छन्। भ्रष्टाचारविरुद्ध लड्ने, सुशासन चाहने र देशप्रेमी सबै शक्तिहरूलाई एउटै थलोमा ल्याउन उहाँ लाग्नुभएको छ,’ उनले बताइन्।

भिडियो

प्रकाशित: ४ कार्तिक २०८२ १६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast