बानेश्वरमा गोली चलेलगत्तै गृहमन्त्रीलाई फोन गरेँ, उहाँले रबरको गोली भन्नुभयो : पूर्वप्रधानमन्त्री ओली

हिमाल प्रेस २ कार्तिक २०८२ १५:२४
40
SHARES
बानेश्वरमा गोली चलेलगत्तै गृहमन्त्रीलाई फोन गरेँ, उहाँले रबरको गोली भन्नुभयो : पूर्वप्रधानमन्त्री ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा भदौ २३ गते नयाँ बानेश्वरमा गोली चलेको सुनेलगत्तै आफूले तत्काल गृहमन्त्री रमेश लेखकलाई फोन गरेर घटनाबारे जानकारी लिएको र गृहमन्त्री रमेश लेखकले रबरको गोली चलेको जबाफ दिएको बताएका छन्।

आइतबार सम्पादकहरूसँगको संवाद कार्यक्रममा अध्यक्ष ओलीले भदौ २३ को घटनाक्रम सुनाउँदै भने,‘मैले गोली चलेको सुनें। तत्काल गृहमन्त्रीजीलाई सोधें, के भएको? मैले गोली चलेको सुनें।’ गृहमन्त्रीले रबरको गोली चलेको जबाफ दिएको तर त्यसको केहीबेरमै विद्यार्थीहरूको मृत्यु भएको खबरले आफू अत्यन्त दुःखी भएको उनले सुनाए।

उनले शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि गोली चलाइएको र विद्यार्थीको मृत्यु भएको घटनालाई आफूले अत्यन्त गम्भीर रूपमा लिएको सुनाए। ओलीले शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गर्नुपर्ने अवस्था कसरी आयो भनी प्रश्न गरे। ‘के भएर विद्यार्थी त्यहाँ मारिनुपर्ने के परिस्थिति परिहाल्यो त? कति प्रहरीले उनीहरूलाई ब्लक गर्‍यो? कतिले छेक्यो? कतिले रोक्यो?’

संवादका क्रममा ओलीले आफूलाई थुनामा राख्न सकिनेतर्फ डर देखाइएको तर आफू त्यसबाट नडराएको बताए। उनले आफू ७३ वर्षको भएको र बंगलादेशमा ८५ वर्षका व्यक्तिलाई जेठो पुस्ताले नेता बनाएको उदाहरण दिँदै उमेरको बहस असान्दर्भिक भएको टिप्पणी गरे। आफूले एक पैसा पनि भ्रष्टाचार नगरेको दाबी उनले गरे।

प्रकाशित: २ कार्तिक २०८२ १५:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast