
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तीनै प्रमुख दलका नेतालाई बिदा गर्न प्रस्ताव गरेका छन्। उनले सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै यस्तो प्रस्ताव गरेका हुन्। उनले नयाँ संवादको वातावरण थाल्न पनि प्रस्ताव गरेका छन्।
महामन्त्री थापाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बिदा गर्न प्रस्ताव गरेका छन्। उनले भनेका छन्, ‘तीन दलका तीन प्रमुख नेतालाई विदाई गरौँ, संवादको नयाँ वातावरण प्रारम्भ गरौँ।’
महामन्त्री थापाले विगत १० वर्षदेखिको ओली, देउवा र प्रचण्डको आलोपालो नै अहिलेको समस्याको चुरो रहेको बताए। उनले मतदाताकहाँ जाने हो भने कांग्रेस, एमाले र माओवादीका प्रमुख टाउको हटाउनुपर्ने माग गर्ने बताए। महामन्त्री थापाले तीनै दलका नेताहरू अब घर बस्नुपर्ने र पार्टी दोस्रो तहका नेताले सञ्चालन गर्नुपर्ने बताए। उनले भने, ‘सुधारको आरम्भ गर्नैपर्छ। नसुध्रिने हो भने कसैसँग संवाद गर्ने अवस्था छैन।’
यसैगरी उनले एमाले र माओवादीका नेताहरूलाई पनि ओली र प्रचण्डलाई बिदा गर्ने प्रक्रिया थाल्न आग्रह गरेका छन्। महामन्त्री थापाले जेनजी पुस्तासँग आफू संवाद गर्न तयार रहेको बताए। महामन्त्री थापाले जेनजीले उठाएका विषयमा धेरै काम गर्न बाँकी रहेको बताए। महामन्त्री थापाले जेनजी पुस्ताले उठाएका माग जायज रहेको बताउँदै उनीहरूसँग संवाद गर्न आफू तयार रहेको पनि बताए।
महामन्त्री थापाले सुशीला कार्की नेतृत्वको सरकारसँग काम गर्न तयार रहेको बताए। उनले अहिले आफू दल सुधार्न कसरी गर्न सकिन्छ भनेर लागिपरेको बताए। जेनजी आन्दोलनमा सहभागी साथीहरूलाई खुला हृदयले संवादमा सहभागी हुन अपिल गरे।