
काठमाडौँ- नेकपा माओवादी केन्द्रसहितका चार दलहरू एकता प्रक्रियामा छन्। उनीहरू तत्काल एकता गर्ने भन्दै घनीभूत छलफलमा जुटेका हुन्। मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेकपा र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) संलग्न छन्।
एकीकृत समाजवादीका नेता ताज मोहम्मद मियाँका अनुसार पार्टीको नाम र नेतृत्वमा सहमति भइसकेको छ। ‘नाम नेकपा समाजवादी केन्द्र र अध्यक्षमा प्रचण्ड-माधव नेपाल हुने सहमति छ,’ मियाँले आइतबार भने, ‘अन्य कुरा मिल्दै छ। आजै टुंगिनसक्छ।’
यसअघि दुवै पार्टीले औपचारिक रूपमा एकताको आह्वान गर्दै प्रक्रिया सुरु गरेका छन्। मियाँका अनुसार एकता प्रक्रियामा नेकपा ढाँचा अपनाइएको छ। नेकपामा समेत दुई अध्यक्षको व्यवस्था थियो। हालसम्मको सहमतिअनुसार दुवै पार्टीका शीर्ष नेताहरूलाई उचित पदको व्यवस्था गरेर एकता प्रक्रिया अघि बढ्नेछ।
‘हामी नेकपाजस्तो भताभुंग हुन दिँदैनौँ। एकता व्यवस्थित तरिकारले हुन्छ’, मियाँले भने। जेनजी आन्दोलनपछि विप्लव पनि एकता प्रक्रियामा लचक बनेको स्रोतको दाबी छ। एकताका लागि भने समाजवादी र माओवादी मुख्य प्राथमिकतामा राखिएको छ। पार्टीको सिद्धान्त ‘नेपाली विशेषताको समाजवाद’ रहने लगभग निश्चित भएको दाबी नेताहरूले गरेका छन्।
‘माओवादीले माओवाद र समाजवादीले जबज (जनताको बहुदलीय जनवाद) छाड्ने सहमति भएको छ’, माओवादीका एक नेताले भने, ‘दुवै पार्टी अघि नबढ्ने देखेपछि एकता रोज्यौँ’
एकतालाई समयको माग भन्दै सम्झौतामा अघि बढेको समाजवादी-माओवादीको निष्कर्ष छ। उनीहरूले साना झुन्डले कतै नपुगिने निष्कर्षका साथ एक हुन लागेको जनाएका छन्। ‘हामी एकता नगर्दा कहीँकतै पुग्दैनौँ। अब सिद्धान्त मिल्नेहरू एक जुट हुनुपर्छ,’ समाजवादी नेता मियाँ भन्छन्।
उनले अहिलेको एकता नेकपाकै निरन्तरता भएकाले हतारिएको भन्न नमिल्ने बताए। ‘हामी वाम एकतामा प्रतिबद्ध छौँ। यसैले हामी एकतामै अघि बढ्नुपर्छ’, उनले भने। माओवादीले पनि बाध्यतात्मक परिस्थिति भन्दै एकताको कुरा उठाएको छ।
एकतामा झलनाथको भाँजो
माओवादी-समाजवादी एकता प्रक्रिया अघि बढ्दै गर्दा समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने असन्तुष्टि जनाएका छन्। उनले माओवादीसँग तत्काल एकता गर्न नहुने भन्दै लिखित असन्तुष्टि जनाएका हुन्। हाल खनाल श्रीमती रविलक्ष्मी चित्रकारको उपचारका लागि भारतको दिल्लीमा छन्। चित्रकारको जेनजी आन्दोलनकर्ताले घरमा आगो लगाउँदा आगलागीमा परेर घाइते भएकी थिइन्।
खनालले भनेका छन्, ‘यो हाम्रो पार्टीका लागि एकता गर्ने मौसम होइन। गलत बाटो हिँडेर भड्खालोमा परिने र अरूलाई पनि त्यही दिशामा धकेलिने खतरा छ।’ खनालले पार्टी एकताको सट्टा आत्मसमीक्षा–हुनुपर्ने बताए। उनले पार्टीले पछिल्ला चार वर्षको ‘विद्रोहको यात्रा’ को गम्भीर मूल्यांकन गर्नुपर्नेमा जोड दिए।
खनालको प्रस्तावअनुसार देशभरिका क्रान्तिकारी, वामपन्थी, प्रगतिशील र देशभक्त शक्तिहरूलाई समेटेर (बृहत् राष्ट्रिय मोर्चा) निर्माण गर्नुपर्ने छ, जसका माध्यमबाट प्रतिनिधिसभा निर्वाचनको तयारी व्यापक रणनीतिसहित गर्न सकिनेछ।
‘पार्टीलाई एकताबद्ध गरेर पुनर्गठन र रुपान्तरणको ऐतिहासिक मार्गतर्फ अघि बढ्न आवश्यक छ,’ खनालले भने। उनका अनुसार अहिलेको राजनीतिक परिस्थितिमा हतारको एकताभन्दा गहिरो मूल्यांकन, संगठन सुदृढीकरण र दीर्घकालीन रणनीति आवश्यक छ।
अध्यक्ष नेपालले माओवादीसँगको एकताको कुरा उठाउँदा उनी असन्तुष्ट रहन्थे। नेपालले एकताको सक्रियता बढाएकै कारण खनाल पक्षले समाजवादीमा समानान्तर कमिटी बनाउन थालेको थियो। अहिले पनि समानान्तर कमिटी यथावत् छन्। माधव पक्षले माओवादीसँग एकता गरे आफूहरू नजाने अडान खनाल पक्षको छ।