अमेरिकाविरुद्ध प्रतिकारात्मक कदम चाल्ने चीनको चेतावनी

हिमाल प्रेस २६ असोज २०८२ १५:०३
10
SHARES
अमेरिकाविरुद्ध प्रतिकारात्मक कदम चाल्ने चीनको चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनफिङ।

काठमाडौँ- चिनियाँ निर्यातमा थप १०० प्रतिशत शुल्क लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीप्रति चीनले आपत्ति जनाएको छ। यसैगरी चीनले विश्वका दुई ठूला अर्थतन्त्रबीचको सम्बन्ध तीव्र रूपमा बिग्रिएको दोष अमेरिकालाई लगाउँदै नयाँ प्रतिकारात्मक कदम चाल्ने चेतावनी दिएको छ।

चिनियाँ व्यापार मन्त्रालयले एक वक्तव्य जारी गर्दै गत महिनामा म्याड्रिडमा दुई देशबीच व्यापार वार्ता भएको भए पनि त्यसयता अमेरिकाले लगातार चीनविरुद्ध नयाँ प्रतिबन्धहरूको शृंखला जारी राखेको उल्लेख छ। वक्तव्यमा उल्लेख छ, ‘शुल्क युद्धबारे चीनको धारणा सधैँ एकनासको छ- हामी युद्ध चाहँदैनौँ, तर डराउँदैनौँ पनि।’

दुवै देशबीचको व्यापारिक तनाव फेरि चर्किएको सन्दर्भमा अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार निर्यात नियन्त्रण र नयाँ शुल्क लगाउने चेतावनी दिएका थिए। ट्रम्पको सामाजिक सञ्जाल ट्रुथ सोसलमा गरिएको पोस्ट अनुसार नयाँ नीतिहरू नोभेम्बर १ भित्रै लागू गरिनेछ।

चिनियाँ व्यापार मन्त्रालयले भनेको छ, ‘हरेक मोडमा उच्च शुल्कको धम्की दिनु चीनसँग सम्बन्ध विस्तार गर्ने सही उपाय होइन। अमेरिका आफ्नो बाटोमा अडिन्छ भने चीनले आफ्नो वैध अधिकार र हितको रक्षा गर्न दृढतापूर्वक आवश्यक प्रतिकारात्मक कदम चाल्नेछ।’

ट्रम्पको उक्त धम्की चीनले पछिल्ला दुई दिनमा उठाएका व्यापारिक कदमहरूपछि आएको हो- जसमा दुर्लभ खनिज र सम्बन्धित प्रविधि, साथै ब्याट्री निर्माणका उपकरण र सामग्रीमा निर्यात नियन्त्रण विस्तार गर्नु समावेश छ।

यसै साताको प्रारम्भमा बेइजिङले अमेरिकी चिप निर्माता कम्पनी क्वालकममाथि अनुसन्धान सुरु गरेको थियो। यसैगरी चिनियाँ बन्दरगाहमा प्रवेश गर्ने अमेरिकी स्वामित्वका जहाजमा शुल्क लगाउने घोषणा चीनको थियो।

बेइजिङका यी कार्यहरू दक्षिण कोरियामा हुनसक्ने ट्रम्प-सी भेटअघि कूटनीतिक दबाब सिर्जना गर्ने रणनीतिका रूपमा व्याख्या गरिएको छ। ट्रम्पले शुक्रबार सो भेट हुने नहुनेमा शंका व्यक्त गरे पनि सम्भवतः भेट हुने बताएका थिए।

चीनका नयाँ निर्यात नियन्त्रणका कारण विश्वव्यापी उत्पादन आपूर्ति शृंखलामा ठूलो व्यवधान आउने आशंका बढेको छ। बेइजिङले भनेको छ, ‘आपूर्ति शृंखलामा यसको प्रभाव अत्यन्तै सीमित हुनेछ।’

ट्रम्पले आफ्नो ट्रुथ सोसलमार्फत जारी गरेको उक्त वक्तव्यले मेमा जिनेभामा भएको युद्धविरामपछि अमेरिकी-चिनियाँ व्यापारिक सम्बन्धमा आएको अस्थायी सहजता अन्त्य हुनसक्ने संकेत दिएको छ।

त्यसअघि ट्रम्पले चीनमाथि १४५ प्रतिशत शुल्क लगाएका थिए भने सीले त्यसको जवाफमा अमेरिकी सामानमा १२५ प्रतिशत कर लगाएका थिए, जसका कारण दुवै देशबीच आभासी व्यापार नाकाबन्दीको अवस्था सिर्जना भएको थियो। ह्वाइट हाउस, अमेरिकी व्यापार प्रतिनिधि कार्यालय र अर्थ मन्त्रालयले यस विषयमा हालसम्म कुनै टिप्पणी गरेका छैनन्।

चीनमाथि सय प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा

प्रकाशित: २६ असोज २०८२ १५:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast