चिनियाँ राष्ट्रपति सी चिनफिङ (दायाँ) र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेइजिङस्थित 'ग्रेट हल अफ द पिपुल'मा बिहीबार हात मिलाउँदै। तस्बिर : एपी/रासस
काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दुईदिने चीन भ्रमण शुक्रबार सम्पन्न भएको छ। यस क्रममा चिनियाँ राष्ट्रपति सी जिनफिङसँग उनको महत्त्वपूर्ण वार्ता भएको थियो, जसमा दुवै नेताले द्विपक्षीय सम्बन्धलाई स्थिर र सुदृढ बनाउने विषयमा जोड दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
छन्। वार्ताका क्रममा सीले भेटलाई कोसेढुंगा भनेका थिए भने ट्रम्पले यसलाई अत्यन्त सफल भएको बताएका थिए। दुवै नेताले अनौपचारिक वातावरणमा चिया र भोजनसहित करिब तीन घण्टा छलफल गर्दै सम्बन्ध सुधारप्रति प्रतिबद्धता दोहोर्याएका थिए।
सीसँगको भेटअघि ट्रम्पले पत्रकारहरूसँग भने, ‘पछिल्ला केही दिन साँच्चै निकै उत्कृष्ट रहे।’ यता सीले यस भेटलाई कोसेढुंगाको संज्ञा दिएका थिए। उनले भने, ‘हामीले नयाँ द्विपक्षीय सम्बन्ध स्थापना गरेका छौँ अथवा यसलाई रचनात्मक, रणनीतिक र स्थिर सम्बन्ध भन्न सकिन्छ।’
यद्यपि केही महत्त्वपूर्ण मुद्दामा मतभेद यथावत् छन्। ताइवानका विषयमा सीले यो मुद्दा सही ढंगले व्यवस्थापन गर्न नसकिए द्वन्द्वको अवस्था सिर्जना हुन सक्ने चेतावनी दिएका थिए। अमेरिकाले भने आफ्नो नीतिमा कुनै परिवर्तन नभएको दोहोर्याएको छ।
अमेरिकी तेल नियन्त्रणबाट बच्न चीनले के गरिरहेको छ?
चीनले विश्वव्यापी ऊर्जा आपूर्ति कायम राख्नका लागि होर्मुज जलमार्गलाई सकेसम्म छिटो पुनः सञ्चालनमा ल्याउनुपर्ने स्पष्ट पारेको छ। इरान द्वन्द्व सुरु भएपछि फेब्रुअरी २८ यता यो जलमार्ग लगभग बन्द अवस्थामा छ। यसअघि विश्वको करिब २० प्रतिशत तेल यही मार्गबाट ढुवानी हुने गरेको थियो। यसको असर अन्तर्राष्ट्रिय तेल बजारमा अस्थिरता र मूल्यवृद्धिका रूपमा देखिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनफिङबीच भएको वार्तामा होर्मुज जलडमरूमध्य खोल्नु विश्व अर्थतन्त्रका लागि आवश्यक रहेको विषयमा सहमति भएको थियो। दुवै नेताले क्षेत्रमा तनाव कम गर्दै ऊर्जा आपूर्ति सामान्य अवस्थामा फर्काउनुपर्ने संकेत दिएका छन्। सीसँगको भेटका क्रममा ट्रम्पले यस विषयमा दुवै देशको सोच धेरै हदसम्म मिल्दोजुल्दो रहेको बताएका थिए।




