
काठमाडौँ- पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले हालका शिक्षामन्त्री डा.महावीर पुनलाई शिक्षक किताबखानाको सेवा विस्तार र प्रणाली सुदृढीकरणका विषयमा सुझाव दिएकी छन्। उनले शुक्रबार सामाजिक सञ्जालमार्फत यस्तो सुझाव दिँदै आफू मन्त्री हुँदा सुरु गरिएको कामलाई निरन्तरता दिन आग्रह गरेकी हुन्।
भट्टराईका अनुसार आफ्नो कार्यकालमा शिक्षक किताबखानाको सेवा सातै प्रदेशमा विस्तार गर्ने र अवकाश प्राप्त शिक्षकहरूको डिजिटल तथ्यांक प्रणाली निर्माण गर्ने उद्देश्यसहित पत्राचार गरिएको थियो। उनले भनिन्, ‘अवकाशको समयमा शिक्षकहरूले धेरै दुःख पाउँछन्, त्यसैले विवरण अद्यावधिक गरी अनलाइन प्रणालीमार्फत सेवा प्रवाह गर्न सकेमा शिक्षकहरूलाई न्याय मिल्नेछ।’
उनले हालका मन्त्री पुनलाई यो कामलाई प्राथमिकतामा राखी अनलाइन सेवा प्रणाली कार्यान्वयन गर्न सुझाव दिएकी छन्। उनका अनुसार यस्तो प्रणालीले अवकाशप्राप्त शिक्षकहरूलाई सहज र द्रुत सेवा उपलब्ध गराउनेछ।
भट्टराईले शिक्षामा सुधारका लागि डिजिटल प्रविधिको प्रयोग अनिवार्य भएको उल्लेख गर्दै संस्थागत स्तरमै प्रविधिमैत्री सेवा विस्तार गर्न आग्रह गरेकी छन्।