शिक्षकहरूको तलबी प्रतिवेदन पारित गर्न राष्ट्रिय किताबखानाको आग्रह

हिमाल प्रेस ४ असोज २०८३ १६:१० | Sunday, September 20, 2026
शिक्षकहरूको तलबी प्रतिवेदन पारित गर्न राष्ट्रिय किताबखानाको आग्रह

काठमाडौँ- राष्ट्रिय किताबखाना (शिक्षक) ले देशभरका सबै स्थानीय तहलाई प्रत्येक वर्ष भदौ मसान्तभित्र शिक्षकहरूको तलबी प्रतिवेदन पारित गरिसक्न आग्रह गरेको छ।

राष्ट्रिय किताबखाना (शिक्षक) ले सूचना जारी गर्दै शिक्षकहरूको तलब भुक्तानीअघि अनिवार्य रूपमा तलबी प्रतिवेदन पारित गराउनुपर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न अनुरोध गरेको हो।

कामु उपमहानिर्देशक गोविन्दप्रसाद अर्यालद्वारा जारी सूचनामा शिक्षकहरूको तलब खर्च लेख्ने जिम्मेवारी सम्बन्धित स्थानीय तहको भए पनि तलब भुक्तानी गर्नुअघि राष्ट्रिय किताबखाना (शिक्षक) बाट तलबी प्रतिवेदन पारित गराउनुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ।

सूचनाअनुसार विगतका वर्षहरूमा कतिपय पालिकाले समयमै तलबी प्रतिवेदन पारित नगराउँदा लेखापरीक्षणका क्रममा बेरुजु देखिएको तथा नियामक निकायहरूले त्यस्ता पालिकाको विवरण माग गर्ने गरेको जनाइएको छ।

हालसम्म शैक्षिक सत्रभरि जुनसुकै समयमा पालिकाबाट सिफारिस आउने अभ्यास रहेको उल्लेख गर्दै किताबखानाले वैशाखदेखि सुरु हुने शैक्षिक सत्रको प्रारम्भदेखि नै शिक्षकहरूको तलब नियमित रूपमा भुक्तानी हुने व्यवस्था सुनिश्चित गर्न प्रत्येक वर्ष भदौ मसान्तभित्र सबै पालिकाले तलबी प्रतिवेदन पारित गरिसक्नुपर्ने जनाएको छ।

पुराना शिक्षकको प्राविधिक ग्रेडसम्बन्धी व्यवस्था

राष्ट्रिय किताबखानाले २०५७ सालअघि स्थायी नियुक्ति भएका तथा सोही अवधिमा हाल कार्यरत तहका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता र तालिम हासिल गरी प्राविधिक स्केल वा ग्रेड सुविधा लिइरहेका शिक्षकको तलबी प्रतिवेदनमा प्राविधिक ग्रेड छुटेको भए आवश्यक कागजात पेस गर्न पनि आग्रह गरेको छ।

यस्ता शिक्षकले स्थायी नियुक्तिपत्र, शैक्षिक योग्यता तथा तालिमका प्रमाणपत्र, प्राविधिक स्केल वा ग्रेडसहितको तलबी भरपाईको प्रतिलिपि सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइबाट प्रमाणित गराएर पालिकामा पेस गर्नुपर्ने सूचनामा उल्लेख छ। त्यसपछि निर्धारित ढाँचामा ती कागजातसहित तलबी प्रतिवेदन पारितका लागि राष्ट्रिय किताबखानामा पठाउन भनिएको छ।

प्रकाशित: ४ असोज २०८३ १६:१० | Sunday, September 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast