
काठमाडौँ- देशका विभिन्न भागमा रहेका ६ वटा सडक पूर्णरूपमा बन्द भएका छन्। आज बिहान ८ बजेसम्मको अवस्थाअनुसार ती सडकहरूमा आवागमन रोकिएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ स्थित बरुणखोला सडक र मकालु गाउँपालिका–३ को एकुवा सडक पूर्णरूपमा अवरुद्ध छन्।
मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीलगायतका स्थानमा पनि सडक बन्द भएको छ। तमोर करिडोरअन्तर्गत पाँचथरको तुम्वेवा गाउँपालिका–२ नावाखोला सडकसमेत बन्द भएको प्रहरीले जनाएको छ।
यस्तै, बागमती प्रदेशमा पनि दुई सडक पूर्णरूपमा बन्द भएका छन्। पासाङ ल्हामु सडकखण्डअन्तर्गत रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा तीन स्थानमा सडक अवरुद्ध छन्। सोही प्रदेशको बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ का माम्तिखोला, डालाबेसी, बल्ढुंगा र बाँझोखेतलगायत क्षेत्रमा पनि सडक बन्द भएको छ।
यी सबै स्थानमा निरन्तर वर्षाका कारण पहिरो खस्दा सडक बन्द भएका हुन्। सम्बन्धित निकायले सडक खुलाउने काम सुरु गरेको भए पनि कतिपय स्थानमा पहिरो ठूलो भएकाले आवागमन सामान्य हुन केही समय लाग्ने बताइएको छ।