देशभर बाढीपहिरोले ९ सडकखण्ड बन्द, तीन ठाउँमा मात्रै एकतर्फी यातायात सञ्चालन

हिमाल प्रेस २३ असोज २०८२ १०:२२
10
SHARES
देशभर बाढीपहिरोले ९ सडकखण्ड बन्द, तीन ठाउँमा मात्रै एकतर्फी यातायात सञ्चालन

काठमाडौँ- अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरोले देशका विभिन्न राजमार्ग र सडकहरू अवरुद्ध भएका छन्। आज बिहान ८ बजे सम्मको प्राप्त विवरणअनुसार देशभरका ९ स्थानका सडकखण्ड पूर्णरूपमा अवरुद्ध छन् भने तीन स्थानका सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेका छन्।

प्रहरीका अनुसार कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-४ बरुण र मकालु गाउँपालिका-एकुवामा सडक अवरुद्ध भएको छ।
त्यस्तै, इलामको मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-९ राजदुवालीलगायतका स्थानहरूमा बाढीका कारण आवागमन पूर्ण रूपमा रोकिएको छ। पाँचथरको तमोर करिडोरअन्तर्गत तुम्वेवा गाउँपालिकाको नावाखोला सडक पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

बागमती प्रदेशतर्फ रसुवाको गोसाइकुन्ड गाउँपालिका-२ स्थित पासाङ ल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ। त्यस्तै, बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी खोला गाउँपालिका-११ माम्तीखोला, डालाबेसी, बुल्ढुंगा र बाँझोखेतलगायतका स्थानहरूमा सडक पूर्ण रूपमा बन्द भएको छ। साथै, सिन्धुलीको सुनकोशी गाउँपालिका-१ नेपालथोक सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ।

कर्णाली प्रदेशमा हुम्लाको कर्णाली करिडोरअन्तर्गत खर्पुनाथ गाउँपालिका-५ कुरिल्ला सडक र कालिकोटको पचाल झरना गाउँपालिका-८ जुगेनी खोलास्थित सडक पूर्ण रूपमा अवरुद्ध रहेका छन्।

यसैबीच, कोशी लोकमार्गअन्तर्गत साँगुरीगढी गाउँपालिका-१ चनौटे र सिमसुवागरी क्षेत्रका तीन स्थानमा सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
बागमती प्रदेश अन्तर्गत मकवानपुरको कान्तिलोकपथमा भिमफेदी गाउँपालिका-८ वगुवा खोला र बकैया गाउँपालिका-११ घटेपाखा सडक पनि एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: २३ असोज २०८२ १०:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast