
काठमाडौँ- आईसीसी ट्वान्टी–२० विश्वकप एसिया एन्ड इस्ट–एसिया प्यासिफिक छनोटअन्तर्गत नेपालले कुवेतलाई ५८ रनले हराएको छ। ओमानको मस्कटमा बुधबार भएको प्रतिस्पर्धामा नेपाल विजयी भएको हो। नेपालले कुवेतविरुद्ध १४२ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
जवाफी ब्याटिङमा उत्रिएको कुवेतले १८.१ ओभरमा सबै विकेट गुमाउँदै ८३ रन बनाएको थियो। आईसीसी ट्वान्टी-२० विश्वकप एसिया एन्ड इस्ट–एसिया प्यासिफिक छनोटमा नेपालले विजयी सुरुआत गरेको हो।
नेपाली टोलीका सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिएका थिए। ललित नारायण राजवंशी र रोहित पौडेलले २-२ विकेट लिएका थिए भने दीपेन्द्रसिंह ऐरी, करण केसी र नन्दन यादवले १-१ विकेट लिएका थिए।
त्यसअघि ओमान क्रिकेट एकेडेमी-१ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो। नेपालका कुशल भुर्तेलले ५६ बलमा ३ छक्का र ३ चौकासहित सर्वाधिक ६६ रन बनाएका थिए। गुल्सन झाले ६ बलमा ३ छक्कासहित २० रन बनाएका थिए।