
काठमाडौँ- जिल्ला प्रहरी परिसर काठमाडौँले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी जाँचबुझ आयोगमा पठाएको छ। ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै हामी नेपाल नामक गैरसकारी संस्थाका सञ्चालक सुदन गुरुङलगायतको सक्रियतामा परेको जाहेरी परिसरले आयोगलाई पठाएको हो।
जेनजी आन्दोलनका क्रममा दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गर्न माग गर्दै गुरुङलगायतले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी लिएर पुगेका थिए।
प्रहरीले भने थप छानबिन र अनुसन्धानका लागि जाहेरीलाई पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको हो। परिसरका प्रवक्ता एसपी पवन भट्टराईले थप छानबिनका लागि जाहेरी उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको जानकारी दिए।
‘भदौ २३ र २४ गते भएको घटनाका सन्दर्भमा एउटा जाहेरी आएको हो। यो प्रहरीको अधिकारक्षेत्रभन्दा बाहिरको रहेछ,’ हिमालप्रेससँग भट्टराईले भने, ‘यो घटना छानबिन गर्न उच्चस्तरीय आयोग गठन भइसकेको छ। हामीले अनुसन्धान गर्न मिल्दैन। त्यसैले जाहेरीलाई आयोगमा पठाइदिएका हौँ।’ राजपत्रमा समेत प्रकाशित भइसकेकाले जेनजी प्रदर्शनमा भएका घटनाबारे उच्चस्तरीय छानबिन आयोगले मात्र छानबिन गर्न सक्ने भएकाले उजुरी दर्ता नभएको उनको भनाइ छ।
नेकपा एमालेनिकट अनेरास्ववियुले पनि जेनजी जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र प्रहरी हत्यालगायतका विषयमा उजुरी दिने तयारी गरेको छ। अखिलले काठमाडौँका मेयर बालेन्द्र शाह र हामी नेपालका सञ्चालक गुरुङमाथि जाहेरी दिने तयारी गरेको बताइएको छ