जनकपुरको राजदेवी मन्दिरमा भित्र्याइयो फूलपाती

हिमाल प्रेस १३ असोज २०८२ ११:४७
10
SHARES
जनकपुरको राजदेवी मन्दिरमा भित्र्याइयो फूलपाती

जनकपुरधाम- विजया दशमीअन्तर्गत सप्तमी तिथिमा जनकपुरको राजदेवी मन्दिरसहित विभिन्न शक्तिपीठहरुमा फूलपाती भित्र्याइएको छ।
सोमबार बिहान राजदेवी मन्दिरमा हिन्दु परम्पराअनुसार बेल (फल) को रूखबाट बेल तोडेर फूलपाती भित्र्याइएको हो।

त्यसअघि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टुकडीले मन्दिर परिसरमा सलामी दिएको थियो। राजदेवी मन्दिरमा फूलपाती भित्र्याउनअघि सलामी दिने परम्परा रहेको छ।

राम मन्दिरका महन्त रामगिरी वैष्णवको नेतृत्वमा बाजागाजसहित श्रद्धालुहरूको लावालस्करले बेलको रूखसम्म पुगेर बेल तोडेका थिए। राजदेवी मिथिलाका राजा जनकको कुल देवता रहेको बताइन्छ।

राजदेवी मन्दिरसँगै रहेको राम मन्दिर परिसरबाट बाजागाजासहित निस्किएको टोली बेल तोड्न जनकपुरधाम–४ स्थित तत्कालीन जिल्ला समन्वय समितिको कार्यालय परिसर पुगेको थियो। त्यहाँ रहेको रूखबाट बेल तोडेर राजदेवी मन्दिरमा फूलपाती भित्र्याइएको हो। फूलपाती भित्र्याउनु एक दिनअघि ‘बेलनौत’ (निम्तो) दिने परम्परा रहेको छ।

फूलपाती भित्र्याउने कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, सरकारी तथा गैरसरकारी कार्यालयका पदाधिकारी, नागरिक समाज, युवा क्लबका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेतासहित श्रद्धालुहरूको उल्लेख्य संख्यामा सहभागिता रहेको थियो।

यसैगरी राजदेवी मन्दिरसहित जनकपुरको रामानन्द चोक, मुरली चोक, भ्रमरपुरा चोक, पिडडिया माइस्थान, राजदेवी चोक, रजौललगायतका स्थानमा भइरहेको दसैं पूजाघरहरुमा समेत धुमधामका साथ फुलपाती भित्र्याइएको छ।

दसैँको अवसरमा जनकपुरका मठमन्दिरहरू भव्य ढंगबाट सजाइएका छन्। दसैँका बेला मुख्य आकर्षको केन्द्र बन्ने गरेको राजदेवी मन्दिरमा दर्शन तथा पूजापाठ गर्न बिहानैदेखि श्रद्धालुहरूको भिड लाग्ने गरेको छ। यसका साथै दसैँमा दुर्गा पुजा गरिने अन्य मन्दिर तथा स्थलहरूमा श्रद्धालुहरूको घुइँचो देखिएको छ।

हरेक वर्षझैँ अष्टमी तिथिका दिन राजदेवी मन्दिरमा हुने बोकाबलि मंगलबार हुने भएको छ। राजदेवी मन्दिरमा वर्षको एकपटक अष्टमीका दिनमात्रै बोकाबलि हुने गरेको छ।

यहाँ हरेक वर्ष १४ देखि १५ हजारको संख्यामा बोकाबलि हुने गरेको पूजा आयोजना गर्दै आएको महावीर युवा कमिटीले जनाएको छ। यसपालि पनि त्यही अनुपातमा बोकाबलि हुने अनुमान गरिएको कमिटीका पूर्वअध्यक्ष विनोद साहले बताए।

बोकाबलिअघि अष्टमी तिथिका दिन बिहानैदेखि राजदेवी मन्दिरमा प्रसाद चढाएर पूजाआजा गरिन्छ। राजदेवी मन्दिरमा पूजाआजा गर्न हजारौँको संख्यामा श्रद्धालुहरू आउने गरेका छन्। अष्टमी तिथिमा राजदेवी मन्दिरमा प्रसाद चढाउन सप्तमीको राति १२ बजेदेखि नै श्रद्धालुहरू लाइनमा बस्ने गरेका छन्।

प्रकाशित: १३ असोज २०८२ ११:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast