अपरेटरले जोखिम मोलेर तुइन खोलाको पहिरो हटाए : सडक डिभिजन कार्यालय

हिमाल प्रेस १० असोज २०८२ १०:२६
8
SHARES
अपरेटरले जोखिम मोलेर तुइन खोलाको पहिरो हटाए : सडक डिभिजन कार्यालय

काठमाडौँ-  निरन्तर खसिरहेको पहिरोको जोखिमबीच अपरेटरहरूले जीवन जोखिममा राखेर काम गरेपछि मुग्लिन-नारायणघाट सडकखण्ड अन्ततः सञ्चालनमा आएको छ। तुइन खोलामा गएको पहिरोका कारण करिब १०५ घण्टा पूर्णरूपमा अवरुद्ध भएको सडक हिजो राति १०:३५ बजेपछि खुलेको हो।

सडक डिभिजन भरतपुरका अनुसार पहिरो हटाउने क्रममा निरन्तर माटो, ढुंगा र चट्टान खसिरहँदा पनि अपरेटरहरूले भारी मेसिनमार्फत सडक सफा गर्ने कार्य जारी राखे। अत्यधिक जोखिमका बीच पनि सडक नछाडेका अपरेटरहरूको साहस र समर्पणलाई डिभिजनले विशेष सम्मानका साथ स्मरण गरेको छ। ‘खतरा मोलेर काम गरेका अपरेटर साथीहरूप्रति हृदयदेखि आभार व्यक्त गर्न चाहछौं’ सडक डिभजनले सार्वजनिक वक्तव्यमा उल्लेख गरेको छ।

पहिरो नियन्त्रणका लागि इन्जिनियर, सुपरभाइजर, प्राविधिक कर्मचारी लगायतको टोली खटिएको थियो। साथै नागढुंगा-मुग्लिन सडक आयोजना, हेटौँडारपोखरा, सडक विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा अन्य सरोकार निकायहरूको समेत सहयोग रहेको डिभिजनले जनाएको छ।

सुरक्षाको हिसाबले चितवनका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षाकर्मीहरू पनि खटिएका थिए। यसबीचमा यात्रुहरूलाई परेको असुविधाप्रति सडक डिभिजन भरतपुरले क्षमायाचना गर्दै सबैलाई धन्यवाद दिएको छ। फाँटमै रहेर काम सम्हालेका इन्जिनियर अर्जुन घिमिरेलाई विशेष धन्यवाद दिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast