
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा.महावीर पुनले नेपालमा सुशासन, समृद्धि र स्वाभिमानी शासन प्रणालीको स्थापनाका लागि कुहिएका नेताहरूलाई होइन योग्य, नैतिकवान् र दृढ संकल्प भएका युवालाई जनप्रतिनिधिहरूका रूपमा छान्न सम्पूर्ण नेपाली जनतालाई आह्वान गरेका छन्।
मन्त्री पुनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत भ्रष्टाचार न्यूनीकरण, विदेशी चलखेल अन्त्य र प्रत्यक्ष राष्ट्रपति निर्वाचन प्रणाली स्थापनाको सपना पूरा गर्नका लागि सशक्त जनसहभागिता अपरिहार्य रहेको स्पष्ट पारे।
‘भ्रष्टाचारलाई सकेसम्म कम गरेर सारा जनतालाई सुशासन दिने सरकार बनोस्, नेपाल आर्थिक रूपमा सम्पन्न बनोस्, विदेशीहरूले चलखेल गर्न नपाउन् र प्रत्यक्ष राष्ट्रपतिको व्यवस्था होस् भन्ने सपना देख्ने सम्पूर्ण नेपालीहरू अब जाग्नुहोस्,’ मन्त्री पुनले भने।
उनले आगामी फागुन २१ गतेको चुनावमा कुनै भैझगडा नगरी संगठनबद्ध ढंगले भाग लिन र कुहिएका, अकर्मण्य नेताहरूको सट्टा स्वच्छ छवि भएका युवालाई अत्यधिक बहुमतसहित विजयी गराउन जोड दिए। ‘कुहिएका नेताहरू फालेर स्वच्छ युवा नेताहरूको अत्यधिक बहुमतको सरकार नबनाएसम्म ठूलो परिवर्तन सम्भव छैन,’ पुनले दोहोर्याए।