
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कुनै दलसँग एकता भए आगामी महाधिवेशन नहुने बताएका छन्। तर, एकता नभए मंसिर महिनामै महाधिवेशन गरेर नयाँ नेतृत्व र नीति चयन गरिने उनको भनाइ छ ।
आज बसेको स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक परिस्थिति र संगठनात्मक अवस्थाबारे जानकारी दिएका थिए। बैठकमा उनले विभिन्न दलहरूसँग पार्टी एकता गर्ने प्रयास भइरहेको पनि बताए।
माओवादी केन्द्रले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित अन्य दलसँग एकताको सम्भावनाबारे छलफल गरिरहेको छ। ‘महाधिवेशनअघि पार्टी एकता भए स्थिति अर्कै ढंगले जान्छ,’ अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘त्यसैले मंसिरमा महाधिवेशन हुन्छ कि हुँदैन भन्ने प्रश्न खुला छ।’
तर बैठकपछि पार्टी प्रवक्ता अग्नि सापकोटाले भने मंसिरमा महाधिवेशनअघि अध्यक्ष प्रचण्डले सबै पार्टी कमिटी भंग गर्ने निर्णय सुनाएको जानकारी दिए।
सोपकोटाका अनुसार कमिटी भंग भएपछि प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति गठन गरिनेछ।
यसको तयारीस्वरूप असोज ९ गते काठमाडौँमा केन्द्रीय समितिको बैठक बोलाइएको छ। सो बैठकले औपचारिक रूपमा केन्द्रीय कमिटी भंग गरी महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गर्ने नेताहरूको भनाइ छ।